Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

अहिलेको निर्वाचन प्रणाली जनताको होइन, संविधान संशोधन अपरिहार्य”

loading views..
Nepal Telcome

धरान, वैशाख २८ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालको निर्वाचन प्रणाली जनताको नभई पैसावाल र सत्तासीन समूहको पक्षमा रहेको भन्दै यसको परिवर्तनका लागि संविधान संशोधन अपरिहार्य रहेको बताएका छन्।

धरानमा आयोजित किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले राष्ट्रपतीय प्रणालीसहित जनमुखी समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने धारणा राखे।

उनले जनयुद्ध र जनआन्दोलनको उपलब्धिलाई समेटिएको संविधानलाई संशोधनमार्फत अझ समावेशी समाजवादतर्फ डो-याउने अभियानमा सबै उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रका जनतालाई साथ दिन आह्वान गरे।

“शान्ति प्रक्रियामा आएपछि हामी थोरै जनताबाट टाढा भएका जस्तो महसुस गरियो,” प्रचण्डले भने, “त्यसैले अहिले हामी सबैसँग सम्बन्ध सुधार्ने अभियानमा छौं।”

पूर्व सरकारको नेतृत्वमा माओवादी केन्द्रले सुरु गरेका विभिन्न योजनाहरू स्मरण गराउँदै उनले मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग, उत्तर-दक्षिण करिडोर, लोडसेडिङ अन्त्य, मधेस समावेशीकरण, र नागरिकता विधेयक लगायतका कामलाई उल्लेख गरे।

भ्रष्टाचारविरुद्धको सुशासन अभियानबारे बोल्दै उनले आफ्नै विरुद्ध अनुसन्धान परे पनि छानबिन गर्न निर्देशन दिएको दाबी गरे। “कोही पनि नछुटोस् भन्ने मान्यताबाट भ्रष्टाचारविरुद्ध निर्मम अभियान थालेको थिएँ,” उनले स्पष्ट पारे।

साथै, विदेशमा रहेका १५ लाखभन्दा बढी नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेटिएको र सो योजनालाई निजी क्षेत्रमा विस्तार गर्ने तयारी गरिएको जानकारी समेत दिए।

धरानका मेयर हर्क साम्पाङलाई “लोकतन्त्रमा फुलेको सुन्दर फूल” भन्दै प्रचण्डले उहाँजस्ता नयाँ राजनीतिज्ञ, पहिचानवादी समूह, र माओवादी आन्दोलनका पक्षधरलाई संविधान संशोधन र समाजवादी रूपान्तरणको अभियानमा साथ दिन आह्वान गरे।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link