Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

गोरखापत्र संस्थानबाट सम्पादक सल्लाहकार उपेश महर्जनको बिदाइ

loading views..

काठमाडौँ, जेठ ११ गते।गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार उपेश महर्जनलाई आइतबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ। उहाँलाई २०८० जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सम्पादक सल्लाहकारमा नियुक्त गरिएको थियो। दुई वर्षे कार्यावधि पूरा भएपछि संस्थानले औपचारिक रूपमा बिदाइ गरेको हो।

बिदाइ कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीले महर्जनलाई मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाइ गर्नुभयो। कार्यक्रममा प्रकाशन प्रमुख, विभागीय प्रमुख तथा सहकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यकारी अध्यक्ष सुवेदीले महर्जनसँगको सहकार्य स्मरण गर्दै उहाँलाई भलाद्मी, सिर्जनशील र जिम्मेवार पत्रकारको रूपमा स्मरण गर्नुभयो। महाप्रबन्धक ऐरीले महर्जनले गोरखापत्रमै पत्रकारिता सुरु गरी सम्पादक सल्लाहकारसम्मको यात्रा तय गर्नु संस्थाभित्रैबाट उच्च पदमा पुग्न सकिने प्रेरक उदाहरण भएको टिप्पणी गर्नुभयो।

१७ वर्ष १० महिना २७ दिनसम्म गोरखापत्र संस्थानमा कार्यरत रहनुभएका महर्जनले गोरखापत्रसँगको आत्मीयता अझ बलियो भएको बताउँदै गोरखापत्रलाई नेपाली पत्रकारिताको ऐतिहासिक सङ्ग्रहालय र पाठशालाको रूपमा वर्णन गर्नुभयो।

कार्यक्रममा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, डिजिटल प्रमुख नारद गौतम, योजना विभाग प्रमुख भगीरथ बस्नेत तथा संस्थानका कर्मचारी संगठन २०६३ का अध्यक्ष विष्णुप्रसाद खनालले महर्जनसँगको सहकार्य र उहाँको योगदानको चर्चा गर्नुभएको थियो।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्