Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

औषधी व्यवसायी संघको ५२औं स्थापना दिवसमा जनसेवा केन्द्रित कार्यक्रम सम्पन्न: विद्यालय र प्रहरीलाई स्वास्थ्य तथा खेलकुद सामग्री हस्तान्तरण

loading views..

पोखरा, असार १० गते । 
नेपाल औषधी व्यवसायी संघ, गण्डकी प्रदेशले आफ्नो ५२औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विद्यालय र प्रहरी कार्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ।

संघले “व्यवसाय मात्रै होइन, समाजप्रति पनि समर्पण” भन्ने भावनालाई व्यवहारमा उतार्दै पोखरा महानगरपालिका–१४ स्थित शहीद स्मृति आवासीय माध्यमिक विद्यालय, मझेरीपाटनवडा प्रहरी कार्यालय, बैदाममा सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा संघका गण्डकी प्रदेश अध्यक्ष केशरीप्रसाद तिवारीको अध्यक्षता तथा संघका केन्द्रीय खुद्रा उपाध्यक्ष यमनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।

मुख्य अतिथि पौडेलले कार्यक्रममा बोल्दै औषधी व्यवसायी संघको ऐतिहासिक पृष्ठभूमि उजागर गर्दै भने,

“यो संस्था २०३० साल असार १० गते स्थापना भएको हो। पाँच दशकभन्दा लामो इतिहास बोकेको संघ औषधी क्षेत्रको मात्र होइन, सामाजिक सेवा र उत्तरदायित्वको साझा सम्बाहक पनि बनेको छ।”

विद्यालयतर्फबाट प्रधानाध्यापक कल्पना चिलवालले संस्थाले प्रदान गरेको सहयोगले विद्यार्थीहरूको पठनपाठनसँगै शारीरिक र बौद्धिक विकासमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा संघका निबर्तमान अध्यक्ष कृष्ण प्रसाद पाण्डे, थोक उपाध्यक्ष लक्ष्मीनारायण पराजुली, कोषाध्यक्ष सुरेन्द्रकुमार अग्रवाल, उपकोषाध्यक्ष यज्ञप्रसाद शर्मा, सदस्य कमला भण्डारीलगायत संघका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा अध्यक्ष केशरीप्रसाद तिवारीले सम्बोधन गर्दै भने —

“हामी व्यावसायिक उद्देश्य मात्र होइन, सामाजिक उत्तरदायित्व बहन गर्न पनि कटिबद्ध छौं। हरेक वर्ष यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं। समाज र स्वास्थ्य सेवा क्षेत्रमा संघको योगदान अझ बढ्नेछ।”

कार्यक्रमको सञ्चालन सञ्जीव देवकोटाले गरेका थिए।

कार्यक्रमले औषधी व्यवसायी संघको सामाजिक संवेदनशीलता, सेवाभाव र संगठित उत्तरदायित्वको स्पष्ट परिचय दिएको छ। सहभागीहरूका अनुसार यस्ता कार्यक्रमहरूले औषधी व्यवसायीप्रतिको सामाजिक विश्वास र सकारात्मक छवि विस्तार गर्न सघाउ पुर्‍याउनेछन्।

संघले आगामी दिनमा स्वास्थ्य, शिक्षा, खेलकुद र सामाजिक सेवाका विविध आयामहरूमा थप सशक्त हस्तक्षेप गर्ने प्रतिबद्धता समेत सार्वजनिकरूपमा दोहोर्‍याएको छ।

यो कार्यक्रम जनउत्तरदायी व्यावसायिक नेतृत्व र समाजसेवाको समन्वयको प्रेरणादायी उदाहरण बनेको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्