Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

एमाले बैठकमा हंगामा, ओली अल्पमतमा पर्ने संकेत

विधान संशोधनबारे कर्ण थापाको कडा आपत्ति, पौडेलको प्रस्तावमै विवाद

loading views..

काठमाडौं, ३ साउन।  नेकपा एमालेको जारी स्थायी कमिटी बैठकमा विधान संशोधन प्रस्तावलाई लिएर चर्काचर्की र हंगामासम्मको अवस्था देखिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली अल्पमतमा पर्ने संकेत देखिन थालेको भन्दै नेताहरू खुलेरै प्रश्न उठाउन थालेका छन्।

७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी अध्यक्ष दोहोरिन नपाउने संवैधानिक व्यवस्था हटाउने सचिवालयको निर्णयमाथि पुनर्विचार गर्न स्थायी कमिटी सदस्य कर्ण थापाले कडा आपत्ति जनाए। उनले उक्त प्रस्ताव विधानविपरीत र मनोमानी ढंगले ल्याइएको भन्दै विधानलाई छलछाम गरिएको आरोप लगाए।

शुक्रबार दिउँसो ३ बजे बसेको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेपछि कर्ण थापाले तत्कालै आपत्ति जनाउँदै भने,

“विधानमा एउटा कुरा, छापिएको अर्कै कुरा! यदि मैले गलत बोलेँ भने अहिले नै सदस्यताबाट हटाउनुहोस्।”

उनको भनाइपछि अध्यक्ष ओलीले “विधानमा गलत के छ?” भन्दै प्रतिप्रश्न गरे। त्यसक्रममा दुई नेताबीच केहीबेर सवाल–जवाफ र तिक्तता देखिएको सहभागी नेताहरूले बताएका छन्।

दुई खाले सदस्यताको प्रस्तावमा पनि प्रश्न

स्थायी कमिटी सदस्य किरण गुरुङले पौडेलको प्रस्तावमा उल्लेख भएको दुई खाले सदस्यता प्रस्तावको विरोध गरे।

“सदस्यता एउटै हुनुपर्छ, किन दुईवटा बनाउने?” – गुरुङले प्रष्ट पारे।

काशीनाथ अधिकारीलाई महासचिवको हस्तक्षेप

पार्टीको संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले आफ्नो विभागले अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार्दै आत्मालोचना गर्न थालेका थिए। तर, महासचिव शंकर पोखरेलले उनी बोलिरहँदा हस्तक्षेप गर्दै भने,

“यो विषय अहिले उठाउने होइन।”

 

ओली र ईश्वर पोखरेलबीच भनाभन

यसअघि बिहीबार राति अबेरसम्म बसेको सचिवालय बैठकमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच पनि भनाभन भएको थियो। यो विवाद अब पोलिटब्युरो बैठकसम्मै सरेको छ।

शुक्रबारको बैठकमा उमेर हद र कार्यकालको सीमा हटाउने प्रस्तावबारे भने खुला छलफल नभएको जनाइएको छ। नेताहरूले भने शनिबारदेखि यसबारे बढी विवाद र बहस उठ्ने निश्चित रहेको बताएका छन्।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्