Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

कांग्रेसमा संकटको संकेत : बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा

loading views..
Nepal Telcome

हेटौँडा, १८ साउन। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्, जसले नेपाली कांग्रेसभित्र गहिरिँदै गएको आन्तरिक विवादलाई झनै स्पष्ट पारेको छ।

मुख्यमन्त्री लामाले आज साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गरी औपचारिक रूपमा राजीनामा दिएका हुन्। गत वर्ष साउन ९ गते पदभार ग्रहण गरेका उनले ठीक एक वर्ष ९ दिनपछि नेतृत्वबाट बिदा लिएका हुन्।

राजीनामाको मूल कारण आफ्नै पार्टीभित्रको विवाद हो। ९ साउनमा कांग्रेसकै सांसदहरूले लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि उनी राजनीतिक रूपमा झनै दबाबमा परेका थिए। प्रस्तावमाथि भएको मत विभाजनमा २२ जना सांसदले अविश्वासको पक्षमा मत दिएका थिए। त्यसपछि भएको संसदीय दलको नेताको निर्वाचनमा पनि लामा ८ मतले पराजित भएका थिए।

यद्यपि, पराजयपछि लामाले तत्काल राजीनामा दिन अस्वीकार गरेका थिए। तर कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशन पछि उनले अन्ततः पद त्याग गर्ने निर्णय गरेका हुन्। लामाले पत्रकार सम्मेलनमा आफू पार्टी अनुशासनमा रहेको र शीर्ष नेतृत्वको आदेशअनुसार नै राजीनामा दिएको स्पष्ट पारे।

यस घटनाले कांग्रेसभित्रको गुटबन्दी र असहमति सतहमा आएको छ। लामाको राजीनामाले बागमतीको सत्ता समीकरणमा मात्र होइन, संघीय राजनीतिमा समेत तरंग ल्याउने देखिन्छ।

अब नयाँ सरकार गठन कसको नेतृत्वमा हुने भन्नेमा सरगर्मी बढेको छ। इन्द्रबहादुर बानियाँ नेतृत्वमा सरकार बन्ने सम्भावना बलियो देखिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link