काठमाडौं, २८ साउन । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको लोभ देखाएर वैदेशिक रोजगारीका नाममा लाखौं रुपैयाँ ठगी गर्ने चार जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार, पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका–५ की ४३ वर्षीया अञ्जु कोइराला र भक्तपुर नगरपालिका–१० का १९ वर्षीय आभास कोइराला छन्। उनीहरूले माल्टा पठाइदिने भन्दै तीन जना पीडितबाट १३ लाख रुपैयाँ असुलेको आरोपमा साउन २६ गते काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरी जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले जानकारी दिए।
त्यसैगरी, रामेछाप उमाकुण्ड गाउँपालिका–१ की ३० वर्षीया चित्र कुमारी बस्नेत मौरिसस पठाइदिने बहानामा तीन जना पीडितबाट २२ लाख रुपैयाँ असुलेको अभियोगमा पक्राउ परेकी छन्। हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१ बसोबास गर्दै आएकी उनलाई पनि साउन २६ गते ललितपुर महानगरपालिका–२६ बाट पक्राउ गरी वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
दाङ तुलसीपुर उपमहानगरपालिका–१२ का ४९ वर्षीय सुनिल विकलाई अमेरिका पठाइदिने भन्दै चार जना पीडितबाट विभिन्न समयमा जम्मा ५६ लाख १५ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। विकविरुद्ध वैदेशिक रोजगार विभागमा दुई मुद्दामा ४१ लाख, जिल्ला प्रहरी परिसर भद्रकालीमा एक मुद्दामा पाँच लाख र इलाका प्रहरी कार्यालय तुलसीपुरमा एक मुद्दामा १० लाख १५ हजार रुपैयाँको ठगी मुद्दा दर्ता भएको छ। उनलाई पनि साउन २६ गते काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरी भद्रकाली परिसर पठाइएको हो।
“विदेश जाने सपना देखाएर युवायुवतीसँग ठूलो रकम असुलेर सम्पर्कविहीन हुने गरेका यस्ता घटनामा संलग्न चार जनालाई पक्राउ गरी सम्बन्धित निकायमा पठाइएको छ,” एसपी आचार्यले भने। उनका अनुसार सबै अभियुक्तमाथि थप अनुसन्धान भइरहेको छ र पीडितको बयान संकलन भइरहेको छ।
प्रहरीले वैदेशिक रोजगारीका नाममा रकम बुझाउँदा व्यक्तिको पहिचान, अनुमतिपत्र र कानुनी प्रक्रिया अनिवार्य रूपमा जाँच गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।