Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

केन्द्रीय बैंकले १ हजार दरका नयाँ नोट छाप्ने ठेक्का चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई दियो

loading views..
Nepal Telcome

काठमाडौं।  नेपाल राष्ट्र बैंकले १ हजार रूपैयाँ दरका नयाँ बैंक नोट छाप्ने जिम्मा फेरि एकपटक चिनियाँ कम्पनीलाई दिएको जनाएको छ। राष्ट्र बैंकले एक औपचारिक सूचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई नयाँ नोट छपाइ तथा आपूर्ति कार्यका लागि छनोट गरिएको पुष्टि गरेको हो।

राष्ट्र बैंकले १ हजार दरका ४३ करोड थान नयाँ नोट छाप्ने योजना अघि सारेको छ। सोहीअनुसार गत भदौ १० गते अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरिएको थियो। प्राप्त बोलपत्रहरूमध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने कम्पनी भएकाले चीनको यो सरकारी कर्पोरेशनलाई छनौट गरिएको बैंकले जनाएको छ।

छपाइ, ढुवानी तथा आपूर्ति प्रक्रिया पूरा गर्न राष्ट्र बैंकले कम्पनीलाई आवश्यक अनुमति तथा प्राविधिक विवरण उपलब्ध गराउनेछ।

यस परियोजनाका लागि राष्ट्र बैंकले १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर भुक्तानी गर्नेछ। हालको विनिमय दरअनुसार यो रकम झन्डै २ अर्ब ४२ करोड ६७ लाख रूपैयाँ बराबर पर्छ। उक्त रकममा डिजाइन–प्रणाली, अत्याधुनिक सुरक्षा विशेषता सहितको छपाइ, प्याकेजिङ र नेपालसम्मको आपूर्तिजन्य सम्पूर्ण खर्च समावेश हुने जनाएको छ।

यससँगै १ हजार दरका नोट छपाइमा चीनको यो कम्पनीको निरन्तरता कायम भएको छ। राष्ट्र बैंकका अनुसार उच्च सुरक्षा सुविधा, प्रतिस्पर्धी मूल्य र समयमै डेलिभरी गर्ने क्षमताका कारण कर्पोरेसन पछिल्ला वर्षहरूमा बलियो प्रतिस्पर्धीका रूपमा उभिँदै आएको छ।

राष्ट्र बैंकले निकट भविष्यमा नयाँ नोटको डेलिभरी समय, वितरण योजना तथा बजारमा परिचालन गर्ने मिति औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link