
गोरखा। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गोरखाले नेपाली कांग्रेससँग कुनै पनि प्रकारको चुनावी सहमति नभएको स्पष्ट पारेको छ। आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत पार्टीले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएका सहकार्यसम्बन्धी समाचारलाई नियोजित रूपमा फैलाइएको भ्रमपूर्ण प्रचार भन्दै कडा शब्दमा खण्डन गरेको हो।
पार्टीले विज्ञप्तिमा भनेको छ, “प्रगतिशील लोकतान्त्रिक पार्टीले गोरखामा कांग्रेसलाई सहयोग गर्ने भन्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त समाचार पूर्णतः कपोलकल्पित, भ्रामक र तथ्यहीन छ।”
प्रलोपाले निर्वाचनको सन्दर्भमा विभिन्न दलहरूसँग संवाद र छलफल हुनु स्वाभाविक राजनीतिक प्रक्रिया भएको उल्लेख गर्दै त्यसलाई आधार बनाएर सहमति भएको प्रचार गर्नु राजनीतिक भ्रमको खेती भएको जनाएको छ। पार्टीका अनुसार हालसम्म कुनै पनि दलसँग लिखित वा मौखिक चुनावी सहमति भएको छैन।
तर बाबुराम भट्टराई निकट स्रोतहरूका अनुसार प्रलोपाको सहानुभूति र सहयोग भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारतर्फ झुकेको संकेत देखिएको बताइन्छ।
यसअघि सार्वजनिक केही समाचारहरूमा प्रलोपा गोरखाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेको दाबी गरिएको थियो। तर जिल्ला कार्यसमितिले त्यस्तो कुनै आधिकारिक निर्णय नभएको स्पष्ट पार्दै ती दाबीलाई सिधै अस्वीकार गरेको छ।
गोरखाको राजनीतिमा यसअघि कोत्रेमा भएको एक राजनीतिक बैठकले चर्चा चुलिएको थियो। पछिल्लो समय म्याङ्गो रिसोर्टमा कांग्रेस गोरखा–२ का केही नेता र प्रलोपाका समानुपातिक उम्मेदवारबीच भएको भनिएको भेटवार्ताले थप राजनीतिक तरंग पैदा गरेको छ। यही भेटलाई आधार बनाएर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसलाई सहयोग गर्ने कथा फैलाइएको दाबी गरिएको छ।
तर त्यसको केही समयमै जिल्लाका जिम्मेवार नेताहरूले प्रेस विज्ञप्तिमार्फत ती दाबीलाई पूर्णतः असत्य र भ्रामक प्रचार भन्दै वास्तविकता सार्वजनिक गरेका छन्।
यता बाबुराम भट्टराईको मौनताले भने गोरखाको राजनीतिमा थप जिज्ञासा र अड्कलबाजीलाई जन्म दिएको छ। जिल्लाको राजनीतिक समीकरणमा उनको भूमिका विगतदेखि नै सधैँ शंकास्पद र दोहोरो सन्देश दिने शैलीको रूपमा आलोचित हुँदै आएको छ। बाहिर एउटा कुरा र भित्र अर्कै रणनीति अपनाउने प्रवृत्तिका कारण उनको राजनीतिक चाललाई धेरैले रणनीतिक मौनता र पर्दा पछाडिको खेलका रूपमा व्याख्या गर्न थालेका छन्।
त्यसैले अहिले कांग्रेससँग सहकार्यको हल्ला फैलिएको सन्दर्भमा पनि उनको मौनताले नै नयाँ प्रश्न उठाएको छ; प्रलोपा वास्तवमै तटस्थ छ कि गोरखाको चुनावी समीकरणमा अर्को रणनीतिक मोडको तयारी भइरहेको छ?
प्रलोपा गोरखाले पार्टी पंक्ति, समर्थक तथा मतदातालाई हल्ला र दुष्प्रचारको पछि नलाग्न आग्रह गरेको छ। पार्टीले समानुपातिकतर्फ आफ्नो ‘आँखा’ चुनाव चिन्हमा मतदान गर्न आह्वान गरेको छ भने प्रत्यक्षतर्फ मतदातालाई विवेक प्रयोग गरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारलाई मतदान गर्न अनुरोध गरिएको एक युवा नेताले बताएका छन्।



