Skip to content
Pokharapress Logo
२१ फाल्गुन २०८२, बिहीबार

प्रतिनिधिसभा निर्वाचन आज : देशभर मतदान, झण्डै तीन लाख सुरक्षाकर्मी परिचालन

loading views..

पोखरा। जेनजी आन्दोलनपछिको विशेष राजनीतिक परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर मतदान हुँदैछ। नेपालका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एकै चरणमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ।
आजको निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ अन्तर्गत प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रका लागि मतदान हुँदैछ भने समानुपातिकतर्फ ११० स्थानका लागि प्रतिस्पर्धा भइरहेको छ। प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमार्फत ६५ राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा छन्।
प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्यसहित तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्। समानुपातिकतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।
यस पटकको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता छन्। साथै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ भने १४३ अस्थायी मतदान केन्द्र समेत राखिएको छ। ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा अशक्त मतदातालाई सहज रूपमा मतदान गर्न प्राथमिकताको व्यवस्था गरिएको छ।
निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन झण्डै तीन लाख सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी र ३४ हजार ५६७ सशस्त्र प्रहरी बल खटाइएको छ। यसैगरी राष्ट्रिय अनुसन्धान विभागका एक हजार ९२१ कर्मचारी र निर्वाचन प्रहरी गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
निर्वाचन सम्पन्न गराउन देशभर करिब दुई लाख १५ हजार कर्मचारी खटाइएको आयोगले जनाएको छ। प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका लागि चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी मतदान केन्द्रहरूमा पठाइसकिएको छ।
यस पटकको निर्वाचन प्रक्रियालाई अवलोकन गर्न चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन्।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा निर्वाचन आयोगका पदाधिकारीहरूले लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा रहेको निर्वाचनमा उत्साहपूर्वक सहभागी भई मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान गरेका छन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले निर्वाचनलाई लोकतान्त्रिक व्यवस्थाको सबैभन्दा महत्वपूर्ण अनुष्ठान भन्दै हरेक मतदाताले खसाल्ने मतले देशको राजनीतिक दिशा, सरकार र नेतृत्व निर्धारण गर्ने भएकाले जिम्मेवारीपूर्वक मतदानमा सहभागी हुन आग्रह गरेका छन्।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्