पोखरा । प्रतिनिधिसभा निर्वाचनमा जादुको छडी चलाए जसरी जादुमय नतिजा हत्याउँदै नयाँ शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी भित्र सत्ता र नेतृत्वको लडाइँ सतहमा आउन थालेको संकेत देखिएको छ। निर्वाचनको अन्तिम मतपरिणाम आउन नपाउँदै पार्टीभित्रै भावी प्रधानमन्त्रीको विषयलाई लिएर तीव्र खटपट सुरु भएको चर्चा राजनीतिक वृत्तमा फैलिएको छ।
निर्वाचनअघि पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाह बीच सात बुँदे सहमति भएको थियो। उक्त सहमतिमा लामिछाने पार्टी सभापति रहने र प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका रूपमा बालेनलाई अघि सारिने उल्लेख गरिएको थियो। यही सहमतिलाई आधार बनाएर चुनावी अभियानमा “अब कि बार, बालेन सरकार” भन्ने नारासमेत प्रचार गरिएको थियो।
तर मतगणना जारी रहेकै बेला उक्त सहमति उल्ट्याउने चलखेल सुरु भएको आरोप पार्टीभित्रै उठ्न थालेको छ। पार्टी उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित तथा अग्रता लिइरहेका उम्मेदवार र समानुपातिक सूचीका नेताहरुलाई ‘बालेन हाम्रो प्रधानमन्त्री’ भनेर सार्वजनिक रूपमा नबोल्न कडा निर्देशन दिएको स्रोतको दाबी छ।
पार्टीका एक नेताका अनुसार अर्यालले आन्तरिक रूपमा स्पष्ट सन्देश दिएका छन् अहिले नै बालेनलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत नगर्नु, अन्तिम निर्णय संसदीय दलको बहुमतले गर्नेछ।
अर्यालले भने सार्वजनिक रूपमा आफूलाई बालेन–रवि सहमतिबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन्।
“सम्झौतामा के लेखिएको छ हेर्नुपर्छ, मलाई कण्ठ छैन,” उनले भनेका थिए।
उता सभापति लामिछानेले पनि चितवनमा पत्रकारहरूले सोधेको ‘पाँच वर्ष बालेन नै प्रधानमन्त्री हो ?’ भन्ने प्रश्नमा स्पष्ट जवाफ दिनबाट जोगिने प्रयास गरेका थिए। उनले प्रश्न नै पन्छाउँदै विषयलाई अन्यत्र मोडिदिएका थिए।
निर्वाचनअघि बालेनलाई प्रधानमन्त्रीको अनुहार बनाएर मत माग्ने नेतृत्वले परिणाम आउन थालेपछि मौनता अपनाउन थालेको विषयलाई धेरैले रास्वपाभित्रको भित्री शक्ति संघर्ष र सम्भावित षड्यन्त्रको संकेतका रूपमा व्याख्या गर्न थालेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार यदि चुनावी सहमति उल्ट्याउने खेल अघि बढ्यो भने रास्वपाभित्र नेतृत्वको खुला टकराव देखिन सक्नेछ, जसले नयाँ शक्तिको रूपमा उभिएको पार्टीलाई शुरुवातमै गम्भीर संकटतर्फ धकेल्न सक्छ।




