काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको पेमेन्ट इनेबल गर्न सम्झौता भएको छ। राजधानीमा आयोजित एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुबेदी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान ले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
एनसीएचएलको इएफटी स्वीच नेशनल पेमेन्ट स्विच सँग इन्टिग्रेट भइसकेकाले उक्त सम्झौतापछि माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकका लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ। साथै डिस्कभर नेटवर्क अन्तर्गतका अन्तर्राष्ट्रिय कार्डहरू तथा रुपे कार्ड समेत अक्वायर गरी नेपालपे कार्डका कारोबारहरू प्रोसेस गर्न सकिने जनाइएको छ।
पहिलो चरणमा बैंकले आफ्ना १९९ भन्दा बढी एटीएम र ३ हजारभन्दा बढी पीओएस टर्मिनलमार्फत नेपालपे कार्ड अक्वायरिङ सेवा सुरु गर्नेछ। त्यसपछि क्रमिक रूपमा ग्राहकलाई कार्ड वितरण गर्ने योजना रहेको छ।
एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरिसकेको छ। अन्तर्राष्ट्रिय साझेदार डिस्कभर नेटवर्कमार्फत नेपालपे कार्डलाई विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
नेशनल पेमेन्ट स्विचअन्तर्गत सञ्चालनमा आएको नेपालपे प्रणालीमार्फत अब बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र प्रणाली सञ्चालकहरूले जारी गर्ने कार्डहरू स्वदेश तथा विदेशका एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिने भएको छ। साथै डिस्कभर र यसको साझेदार नेटवर्कका कार्डहरू नेपालमा समेत प्रयोगयोग्य हुनेछन्।
हाल एनसीएचएलको इएफटी सेवामार्फत १० वटा बैंक तथा वित्तीय संस्थाले अन्तर्राष्ट्रिय कार्ड स्किमहरू प्रोसेस गर्दै आएका छन्। इएफटी र नेशनल पेमेन्ट स्विचबीचको एकीकरणपछि नेपालपे कार्डसमेत प्रोसेस गर्न सकिने भएको हो।
नेपालपेमा हालसम्म ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्था आवद्ध भइसकेका छन्। दुईवटा वाणिज्य बैंकले कार्ड इस्यू सुरु गरिसकेका छन् भने तीनवटाले अक्वायरिङ सेवा प्रदान गरिरहेका छन्।
माछापुच्छ्रे बैंकले हाल १८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। देशभर १६५ शाखा, १२ विस्तारित काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा र १९९ एटीएममार्फत बैंकले सेवा विस्तार गर्दै डिजिटल रूपान्तरणलाई तीव्रता दिएको जनाएको छ।





