चितवन, ३असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरेको छ। यसअघि रत्ननगरस्थित होटल स्टार परिसरमा आयोजना गर्ने तयारी गरिए पनि अब उद्घाटन तथा बन्दसत्र भरतपुरमा सञ्चालन गरिने भएको हो।
असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन समारोह भरतपुरस्थित गेष्टहाउस चौरमा र बन्दसत्र चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा आयोजना गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ।
पार्टीका केन्द्रीय सदस्य तथा आवास एवं भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमका अनुसार पार्टी नेतृत्वको निर्देशन, अत्यधिक गर्मी तथा सम्भावित वर्षालाई मध्यनजर गर्दै स्थल परिवर्तन गरिएको हो। बन्दसत्र टेन्टमुनि सञ्चालन गर्दा सहभागीलाई असहज हुन सक्ने निष्कर्षपछि वैकल्पिक स्थल छनोट गरिएको उनले बताए।
रास्वपाले उद्घाटन समारोहमा ठूलो जनसहभागिता हुने अनुमान गरेको छ। पार्टीका अनुसार उद्घाटन कार्यक्रममा राष्ट्रिय राजनीतिक दलका शीर्ष नेतासहित छिमेकी मुलुकका प्रतिनिधिहरूलाई समेत आमन्त्रण गरिएको छ। बन्दसत्रमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।
महाधिवेशनको तयारीका लागि गठन गरिएका विभिन्न उपसमितिहरू अहिले व्यवस्थापन कार्यमा सक्रिय छन्। स्थानीय जिल्ला तथा नगर समितिहरू, केन्द्रीय सदस्यहरू र जनप्रतिनिधिहरूको समन्वयमा तयारीलाई अन्तिम रूप दिइँदैछ। पार्किङ व्यवस्थापन भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा गर्ने योजना बनाइएको छ।
यसअघि होटल स्टार परिसरमा हजारौं सहभागी अट्ने अस्थायी पण्डाल निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको थियो। तर अन्तिम समयमा निर्णय परिवर्तन भएपछि कार्यक्रमको सम्पूर्ण व्यवस्थापन भरतपुरतर्फ केन्द्रित गरिएको छ।




