पोखरा ३ असार। नेपाल दूरसञ्चार प्राधिकरणले मनास्लु सर्किट क्षेत्रमा जडान गरिएको वाइफाइ नेटवर्कको अनुगमन, मूल्यांकन तथा कार्यान्वयन प्रमाणीकरणसम्बन्धी परामर्श सेवा ठेक्का प्रक्रिया रद्द गरेको छ ।
प्राधिकरणले उक्त सेवाका लागि २०८२ पुस ८ गते प्रस्ताव आह्वान गरेकामा प्राप्त प्रस्तावहरूमाथि गरिएको मूल्यांकनपछि खरिद प्रक्रिया रद्द गरिएको जनाएको हो । सूचनाअनुसार तोकिएको समयभित्र पेस भएका प्रस्तावमध्ये प्राविधिक मूल्यांकनमा छनोट भएका प्रस्तावदाताहरूको आर्थिक प्रस्ताव मूल्यांकन गर्दा नेपाल दूरसञ्चार प्राधिकरण खरिद विनियमावली, २०७३ (संशोधनसहित) को विनियम १०५ (ख) बमोजिम सबै प्रस्ताव अस्वीकृत गरिएको छ ।
प्राधिकरणले परामर्श सेवा खरिदका लागि प्राप्त सम्पूर्ण प्रस्तावहरू अस्वीकृत गरी खरिद कारबाही नै रद्द गरेको हो ।
यससँगै मनास्लु सर्किट क्षेत्रमा सञ्चालन गरिएको वाइफाइ नेटवर्क परियोजनाको कार्यान्वयन मूल्यांकन तथा प्रमाणीकरणका लागि अघि बढाइएको परामर्शदाता छनोट प्रक्रिया पुनः अघि बढाउनुपर्ने भएको छ ।




