काठमाडौं,२३साउन। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी २०२६–२०२८ कार्यकालका लागि हुने निर्वाचनमा महासचिव पदका लागि सुशील पन्तले उम्मेदवारी घोषणा गरेका छन्। सरल र निष्पक्ष छविका पन्त काममार्फत पहिचान बनाउन विश्वास गर्ने व्यक्तिका रूपमा चिनिन्छन्।
गोरखाको पालुङटारमा जन्मिएका पन्तले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन्, र नेपाल बार काउन्सिलका प्रमाणित अधिवक्ता समेत हुन्। सन् १९९८ देखि पर्यटन उद्योगमा सक्रिय पन्त हाल गोर्खा इन्टरनेशनल ट्राभल्स र एडभेन्चर गोर्खाल्याण्ड ट्रेक्स एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक छन्। उनी जी स्वा तुलाधरको नेतृत्वमा रहेको प्यानलबाट महासचिवका साझा उम्मेदवार बनेका हुन्।
पर्यटन क्षेत्रलाई डिजिटल, प्रतिस्पर्धी र परिणाममुखी बनाउने स्पष्ट योजना अघि सार्दै पन्तले नाट्टाको सचिवालयलाई सदस्य-केन्द्रित र प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाएका छन्। साना तथा मझौला व्यवसायीको हित संरक्षण, नयाँ गन्तव्यको खोजी र व्यवसायी-अनुकूल नीतिगत सुधारका लागि पैरवी उनका मुख्य एजेन्डा हुन्। साथै, ‘सिग्नेचर प्रोजेक्ट’मार्फत दीर्घकालीन प्रभाव पार्ने पहलहरू कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
पन्त ‘KIVO Japan’ को नेपाल संयोजकका रूपमा पनि क्रियाशील छन्, जसमार्फत सन् २००९ देखि हालसम्म हजारभन्दा बढी जापानी विद्यार्थी तथा स्वयंसेवक नेपालका ग्रामीण क्षेत्रमा पुगिसकेका छन्। (newskarobar) साथै अपाङ्गता भएका व्यक्तिको सशक्तीकरणका लागि काम गर्ने संस्था ‘EPSA Nepal’ का संस्थापक सदस्य तथा समावेशी पर्यटनको अवधारणा नेपालमा भित्र्याउनेमा पनि उनको भूमिका रहेको बताइन्छ।
पन्तको यो उम्मेदवारीलाई पर्यटन क्षेत्रमा संस्थागत सुधार र व्यावसायिक सुरक्षाको सम्भावनाका रूपमा हेरिएको छ। नाट्टाको निर्वाचनी सरगर्मी उत्कर्षमा पुगेको यस बेला उनको प्यानलले “सदस्य-केन्द्रित, पारदर्शी र प्रविधिमैत्री” संस्था निर्माणको नारा अघि सारेको छ।




