काठमाडौँ, १९ कार्तिक। सरकारले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक राजनविक्रम थापालाई नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको छ। अर्थ मन्त्रालयद्वारा गठित छनोट समितिको सिफारिसबमोजिम मन्त्रिपरिषद्को बैठकले थापालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त अध्यक्ष थापाले अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शपथ ग्रहण कार्यक्रममा अर्थमन्त्री वाग्लेले बीमा क्षेत्रको विकास, विस्तार र सुधारका लागि निडर एवं निष्पक्ष भएर काम गर्न निर्देशन दिए।
केन्द्रीय बैंकमा झन्डै तीन दशक लामो अनुभव सम्हालेका थापा नियुक्तिपूर्व संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको कार्यकारी निर्देशक पदमा कार्यरत थिए। सन् १९९७ मा वित्तीय संस्था सुपरिवेक्षण विभागबाट केन्द्रीय बैंकको सेवा प्रवेश गरेका उनले बैंक तथा वित्तीय संस्था नियमन, सुपरिवेक्षण लगायतका महत्त्वपूर्ण विभागहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। यसबाहेक उनले राष्ट्र बैंकको वीरगञ्ज कार्यालयको नेतृत्व तथा गभर्नरको कार्यालयमा कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी समेत सम्हालेका थिए।
बैंक तथा वित्तीय संस्थाको स्थलगत निरीक्षण, वित्तीय विवरण विश्लेषण, जोखिममा आधारित सुपरिवेक्षण तथा ‘बासेल–२’ मापदण्ड कार्यान्वयनको अनुगमनमा थापाको लामो कार्यअनुभव छ। यसका साथै उनले राष्ट्रिय जीवन बीमा कम्पनी र निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समिति सदस्य तथा दुवै निकायको लगानी समिति संयोजक भएर काम गरिसकेका छन्।
शैक्षिक पृष्ठभूमितर्फ थापाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा एमफिल, अर्थशास्त्र र व्यवसाय प्रशासन (एमबिए) मा स्नातकोत्तर तथा कानुनमा स्नातक (बीएल) गरेका छन्। उनले भारतको सिंघानिया विश्वविद्यालयबाट नेपाली बैंकहरूको जोखिम व्यवस्थापनमा संस्थागत सुशासनको प्रभावबारे विद्यावारिधि (पिएचडी) गरेका छन्,







