Skip to content
Pokharapress Logo
२७ श्रावण २०८२, मंगलवार

खड्ग ओली बिदेशीले हुर्काएको पुरानो एजेन्ट हो।

पोखरा।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान मास्ने पात्रको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली अगाडि आएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले अहिलेको व्यवस्था मन नपाउनेहरुले संविधान, संघीयता र समानुपातिक समावेशिता मास्ने पात्रको रुपमा केपी शर्मा ओलीलाई अगाडि सारेको बताएका हुन्।

‘हिजोका गणतन्त्र विरोधीको एउटा धार बनेको छ, उनीहरुले संविधान निस्तेज पार्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका छन्,’ उनले भने। गणतन्त्र, संघीयता समावेशिताको विरोधीहरु अहिले पनि यो संविधानलाई निचोर्ने र च्यात्ने उद्देश्यमा रहेको उनले बताए। प्रचण्डले ओलीलाई २०/२५ वर्षदेखि विदेशीले हुर्काएको आरोप पनि लगाए।

प्रचण्डले भनेका छन्, ‘गणतन्त्र, संघीयता र समावेशिता सिध्याउन सक्ने, पहाडिया उच्च जातीय अहंकारवादी, विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने, २०/२५ वर्षदेखि विदेशीबाट पालित पोषित सारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्ने पात्रका रुपमा ओली अगाडि आएका छन्।’

ओलीले राष्ट्रिय-अन्तर्राष्ट्रिय सेटिङ गरेर नेकपालाई दुई वटा बनाएको उनले बताए। केपी ओलीले नै आफूलाई माधवकुमार नेपाल लगायतसँग पुर्‍याएको र उनीबाट उत्पीडितहरु एक ठाउँमा भएको प्रचण्डको भनाइ छ। त्यसपछि केन्द्रीय कमिटी, स्थायी कमिटीमा आफूहरुको दुई तिहाइ भएको र ओलीविरुद्ध लड्दै अघि बढेको उनले बताए।

‘तर, उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय के के सेटिङ गर्नुभयो, लम्पसार पर्नुभयो, के के गर्नुभयो तपाईंहरु नै अध्ययन गर्नुहोला र अहिले दुईटा पार्टी भयो,’ उनले भने। प्रचण्डले आफूहरुलाई सडकमा पुर्‍याएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए। साथै आफू झन् शक्तिशाली भएको पनि दाबी गरे।

‘हामी बालुवाटार र सिंहदरबार वरिपरि घुम्ने भइएको थियो। केपी ओलीले संसद् विघटन गरेर हामीलाई सडकमा पुर्‍याइदिनुभयो। सडकमा पुर्‍याउने भनेको जनतामा जाऊ भनेको हो। हामीलाई दलित, जनजाति, मजदुर किसान र आम नेपाली जनताको बीचमा लगेर फालिदिनुभयो,’ उनले भने, ‘उहाँले हामीलाई सिध्याउन खोज्नुभएको थियो। तर, हामी आफूमा लागेको धुलोमैलो पनि टक्टक्याउँदै फेरि जनताको मुद्दा लड्ने ठाउँमा पुर्‍याइदिनुभयो। पुस ५ गतेपछि त म आफूलाई झनै शक्तिशाली महसुस गर्न थालेको छु। फेरि जनताको प्रतिनिधिको रुपमा लडाइँ लड्ने अवसर प्राप्त भएको छ।’

प्रचण्डले आफूलाई भने संविधानको रक्षा गर्ने, समानुपातिक समावेशी व्यवस्था जोगाउने धारको रुपमा व्याख्या गरे। ‘उनीहरुलाई के लागेको छ भने समय लिँदै जाँदा दलितहरु पनि थाकिसके, सशक्त रुपमा सडकमा आउने स्थिति छैन, आदिवासीहरु पनि थाकिसके सडकमा आउने अवस्था छैन,’ प्रचण्डले भने।

उनले आफ्नो कुनै जात नरहेको बताए। प्रचण्डले भने, ‘म त जात त्यागेको मान्छे। प्रचण्ड जात होइन। प्रचण्डभित्र दलित छ, आदिवासी छ, महिला छ, मुस्लिम छ। पूर्वेली पश्चिमेली सबै छ त्यसभित्र। म कम्युनिष्‍ट बनेकै दलितबाट हो।’

arrow प्रतिक्रिया दिनुहोस्