एसपिपीमा सहमति ओलीले गरेका हुन, यो सरकारलाई मान्य छैन

एसपिपीमा सहमति ओलीले गरेका हुन, यो सरकारलाई मान्य छैन

पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकाले अघि सारेको स्टेट पार्टनरशीप कार्यक्रममा कुनै पनि किसिमको सम्झौता नहुने स्पष्ट पारेका छन् ।

शहीद रित बहादुर खडकाको स्मृति दिवसका अवसरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रवादको झूठो र पाखण्डी प्रचार गर्नेहरुले यसबारेमा भ्रम छरेको बताए ।

“अहिले फेरी एकचोटी कुनै न कुनै रुपले फेरी राष्ट्रवादको झूठो र पाखण्डी प्रचार गर्ने कसरत भएकाे छ । विगतमा पनि हामीले देखेको हो, जो सबैभन्दा बढी आत्मसमर्पण गर्नेतर्फ जान्छन् उनीहरुले नै राष्ट्रवादको बढी हावा दिने गरेको अनुभव नेपाली जनतालाई छ । हिजोआज पनि एसपिपी हुँदैछ रे भनेर भइ नै सकेको जस्तो गरी प्रचार गरिएको छ । त्यो बिल्कुल झूठो हो ।” उनले भने ।

प्रचण्डले अगाडि भने, “म गठबन्धनको एउटा नेताको हैसियतले प्रधानमन्त्री र गठबन्धनमा भएको छलफल अनुसार, त्यस्तो कुनै सम्झौता भएको छैन । त्यस्तो कुनै सैन्य सम्झौता हुने छैन भन्ने घोषणा म गर्न चाहन्छु । कुनै पनि हालतमा त्यस्तो हालतमा जान्न भनेर प्रधानमन्त्रीले पनि प्रतिबद्धता जनाउनुभएकाे छ ।”

केपी ओली सरकारले एसपिपीलाई कार्यान्वयनमा लैजान सहमति गरेको समेत प्रचण्डले खुलासा गरे । “बरु सन् २०१९ मा केपी ओली नेतृत्वको सरकारले एसपिपी कार्यान्वयन गर्ने काम गरिसकेको तथ्य इतिहासमा छ । उनले भने, यो कुरा हामी सबैले बुझ्नु जरुरी छ । यो गठबन्धन त्यस्तो कुरामा लाग्दैन । हामी नेपालको स्वाधीनता, विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन्छौं ।”

अध्यक्ष प्रचण्डले अहिले पनि अग्रगमन र प्रतिगमनविरुद्धको लडाई नै मुख्य भएकोमा जोड दिए । निर्वाचनमा कुन पार्टीले कति सीट जित्यो भन्ने कुरा मुख्य नभएको उनले बताए ।

“यो निर्वाचन हाम्रा लागि, मेरा लागि कुन पार्टीले कति जित्यो भन्ने कुरा ठूलो होइन । ठूलो कुरा निर्वाचन यही संविधान अन्तर्गत सफलतापूर्वक सम्पन्न भयो, यसमा हामीले गर्व गर्नुपर्छ । संविधान च्यातेर अराजकता र निरंकुशताविरुद्ध लैजाने प्रवृत्ति परास्त भएको छ ।” उनले भने, “त्यसैले यो निर्वाचन हामीले जितेको हो । दलित, महिला, मधेसी प्रतिनिधित्व हुँदा जुन पार्टीबाट आएपनि त्यो हाम्रो जीत हो भन्ने ठान्छु । जुनसुकै पार्टीबाट आएको भएपनि त्यो हाम्रो लडाईको जीत हो । माओवादीले सबैभन्दा बढी रगत बगाएको नाताले हामीलाई गर्व लाग्छ ।”

सहकार्यमा जोड

राजनीतिक परिवर्तनको लडाईपछि अब समाजवाद निर्माणको लडाई, विकास र समृद्धिको लडाई, त्यसको निम्ति पनि हामीले सहकार्य र एकता गर्नु नै छ । जतिबेला हामी राजनीतिक दलहरु एकताबद्ध भयौं, त्यतिबेला ठूला ठूला परिवर्तनहरु नेपालमा सम्भव भएका छन् । ३० वर्षे पञ्चायती तानाशाहीलाई त्यतिबेला नेपाली कांग्रेस र वामपन्थीहरुको मोर्चाको बलमा परास्त गरियो । जनयुद्ध र जनआन्दोलनले एउटा परिवर्तन ल्याउने ठाउँमा १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता मार्फत सहमति, सहकार्य र एकताकै बलमा पुगेको हो । संविधान पनि त्यहि बलमा बनेको हो । अब विकास र समृद्धिको यात्रा पनि सहमति र सहकार्य कै तरिकाबाट लैजानुपर्छ । एक्लै अगाडि बढने अहंकार सबैले छोड्नुपर्छ ।

यो गठबन्धन ऐटितहासिक आवश्यकतामा जन्मियो । स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । अब प्रदेश र संघको निर्वाचनपनि सफलतासाथ सम्पन्न गर्नुछ । सहकार्यका साथ सम्पन्न गर्नुछ र परिवर्तनलाई उल्ट्याउन चाहने, प्रतिगमनतिर देशलाई लान चाहने, निरंकुशता र अराजकताको भूमरीमा देशलाई धकेल्न चाहने प्रवृत्तिलाई परास्त गर्नुछ । यो कुनै व्यक्तिका प्रति रिस र इविको कुरा होइन । एकता र सहकार्यको प्रवृत्ति देशमा हावी हुने कि निषेधात्मक दम्भ र अहंकारको प्रवृत्ति हावी हुने भन्ने लडाई चलिरहेको छ ।
त्यसैले हामीले रित बहादुर खडकाको स्मृति दिवस मनाउँदै गर्दा यो कुराको गहिरो आत्मसात गर्नु जरुरी छ । सहकार्यलाई अझ बलियो बनाउने, शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न गठबन्धन अझ बलियो बनाउने र विकास र समृद्धिका लागि राजनीतिक स्थायीत्वका लागि यो सहकार्य आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.