पोखरा।एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाएसँगै २असोजदेखि संसद नरहने बताएका छन् ।
पार्टी संसदीय दलका नेता समेत रहेका ओलीले शुक्रबार दल कार्यालय सिंहदरबारमा आयोजित सांसदहरुको बिदाई बैठकमा संसदको कार्यकाल २ असोजबाट सकिने बताए ।
संसदको कार्यकाल समाप्त भएकाले अब चुनाव प्रचार–प्रसारका लागि गाउँगाउँ जान ओलीले सांसदहरुलाई निर्देशन दिए ।ओलीले ४ मंसिरको निर्वाचनमा आफ्नो दलले चमत्कार गर्ने दाबीसमेत गरे ।
‘तपाईंहरु अब पार्टीका उम्मेदवारलाई जिताउन गाउँगाउँ जानुपर्छ’, ओलीले भने, ‘एमालेविरुद्ध जसजसले घेराबन्दी गरे पनिमंसिर ४ गते एमालेले चमत्कार देखाउँछ ।’ देशलाई शिरमा राखेर पार्टीले दिएको जिम्मेवारी पूरा गर्न ओलीले निर्देशन दिए ।
ओलीले साढे ४ वर्षको कार्यकाल शानदार रहेको भन्दै सांसदहरुलाई बधाई र शुभकामना दिए । सत्ता गठबन्धनले समानुपातिक उम्मेदवारी दर्तापछि पनि सांसद कायम राख्न खोजेको आरोप लगाउँदै उनले त्यसो गरिए तमाशा मात्र हुने टिप्पणी गरे ।