Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

हाम्रो संविधानमा संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन : देउवा

चितवन। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थायी शान्ति र विकासका लागि वाम लोकतान्त्रिक गठबन्धनले निर्वाचन जित्नु पर्ने बताएका छन् ।

सत्ता गठबन्धन चितवनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर देशलाई धनी बनाउन गठबन्धनले जित्नु पर्ने दाबी गरेका हुन् ।

राष्ट्रिय एकता स्थापित गरेर सम्पूर्ण नेपालीलाई एक बनाउनु पर्नेमा जोड दिँदै उनले भने, ‘आफ्नै देशमा उद्योग खोलेर जलस्रोतको विकास गरेर नेपाललाई सम्पन्न बनाउनु पर्छ, नेपालभित्रै रोजगारी सिर्जना गरी कोही पनि विदेश जानु नपरोस् भन्ने चाहना मेरो छ ।’

ठूलो सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र स्थायी रुपमा स्थापित गर्न र सङ्घीय शासन व्यवस्था, समावेशिता, हिमाल, पहाड मधेससहित मेचीमहाकालीसम्मको भूभागलाई एक बनाएर लैजाने आफ्नो प्रयास रहेको उनले बताए ।

प्रधानमन्त्री देउवाले भने, “यसलाई अझबढी एकताबद्ध बनाउने भन्ने हो ।” यसैका लागि अहिले गठबन्धनको सरकार रहेको र भोलि पनि हुनु पर्ने उनको भनाइ थियो ।

गठबन्धनको जित भएमा राष्ट्रिय एकता स्थापित हुने उनको विश्वास थियो । उनले भने, “गठबन्धनको एकता भएर अघि बढ्यो भने समावेशी, समानुपातिक मात्रै नभएर राष्ट्रिय एकता पनि स्थापित हुने विश्वास लिएको छु ।”

अहिलेको संविधानमा मनपरी तरिकाले संसद् विघटन गर्ने अधिकार नभएको उल्लेख गर्दै उनले भने, “अहिलेको संविधानमा मनपरी तरिकाले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन ।”

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई आफ्नो खेलाउना जस्तो गरेर दुईपटक विघटन गरेको उल्लेख गर्दै उनले त्यसलाई सबै मिलेर फिर्ता ल्याएको बताए । उनले भने, “हामीले त्यसको खिलापमा संसद् फिर्ता ल्याउने काममा लाग्यौँ, सफल भयौँ ।”

arrow प्रतिक्रिया दिनुहोस्