गोरखा। गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर १ र बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ६ स्थित थामडाँडा भीमसेन सामुदायिक बनमा अबैध रुपमा कटानी भएको फेला परेको छ । सामुदायिक बन उपभोक्ता समितिको स्विकृती बिना लुकीछिपी थुम्कीडाँडा खण्डमा करिब १ सय ११ क्युफिट काठ कटानी भएको पुष्टी भएकोे डिभिजन बन कार्यालय गोरखाका प्रमुख असोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अबैध रुपमा सामुदायिक बनमा पाँच वटा सालको रुख ढालिएको पाइएको बन कार्यालयको उहाँको भनाई छ । ‘काठ काटिएको भन्नेबारेमा जानकारी आएको छ, प्रमुख श्रेष्ठले भन्नुभयो, ‘इलाका बन कार्यालयबाट कर्मचारी पठाएर कति काठ काटिएको हो भन्ने बारेमा जानकारी लिएर आबश्यक प्रक्रिया अघि बढाइएको छ ।’ उहाँले काठ कटानीमा संलग्न व्यक्तिलाई सामुदायिक बनको बिधान अनुसार सामुदायिक बनले कारवाही गर्नसक्ने र सामुदायिक बनले कारवाही गर्न नसकेमा डिभिजन बन कार्यालयले कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउने बताउनुभयो ।
गएको पुसको पन्ध्र गतेतिर नै काठ काटिएको हुनसक्ने अनुमान बन कार्यालयको छ । स्थानीय प्रेमबहादुर बरामले उक्त काठ काटेको स्विकार गर्नुभएको छ । अन्तरज्वोती मा.विका शिक्षक समेत रहनुभएका बरामले काठ काट्नका लागि आफूले रुख ढालेका तर बन उपभोक्ता समितिसंग कटानीका लागि कुनै अनुमति नलिएको बन कार्यालयका कर्मचारी सहितको छलफलमा स्विकार गर्नुभएको हो ।
अबैध रुपमा बनमा साल रुख ढालेको फेला परेपछि इलाका बन कार्यालय ध्याम्पेसालबाट खटिएको बन कार्यालयको टोलीले ढालिएको रुखको नाप लिएर फर्किएको छ । इलाका बन कार्यालयका ध्याम्पेसालका इन्चार्ज साहायक बन अधिकृत सुरेश भुजेल अबैध रुपमा सालको रुख ढालिएको पुष्टी भएपनि आर्थिक प्रलोभनमा परेर दोषीलाई कारवाही भन्दा उन्मुक्ति दिने बाटो खोजी रहेको उपभोक्ता समितिका एक सदस्यले बताएका छन् । साहायक बन अधिकृत भुजेलले समितिलाई बोलाएर काठ कटानीको निर्णय गराउन दबाब दिदै दोषीलाई जोगाउन खोजेको ति सदस्यले बताउनुभयो ।साहायक बन अधिकृत भुजेलले पटक पटक दोषीलाई कारवाही गर्दा सिंगो बनउपभोक्ता समिति पनि कारवाही पर्ने भन्दै मिलाउन ठिक हुने धम्की उपभोक्ता समितिलाई दिदै आएका छन् । उहाँलाई कारवाही गर्दा एक बर्षमा जेल पर्ने हो, तपाईहरु त झन २ बर्ष जेल पर्नुहुन्छ, बरु निर्णय गर्नुस म मिलाईदिन्छु मैले गरेपछि अरु कसैले केही गर्न सक्दैन भन्दै साहायक बन अधिकृत भुजेलले उल्टै उपभोक्ता समितिलाई तर्साउने गर्नुभएको स्रोतको भनाई छ ।
बन कार्यालयका साहायक बन अधिकृत भुजेलले पैसाको प्रलोभनमा परी दोषीलाई कारवाही गर्ने भन्दा पनि उपभोक्ता समितिलाई घटनाको ढाकछोप गर्न लगाउन दबाब दिएको हुनसक्ने उपभोक्ताहरुको भनाई छ । उपभोक्ता समिति नै जेल जान्छ भनेर उहाँले तसाई रहनु भएको छ, एक सदस्यले भन्नुभयो, ‘बनमा अबैध काठ काटेको भेटिएर उजुरी गरेपछि दोषीलाई कारवाही गर्ने होकी उल्टै उपभोक्ता समितिलाई जेल जानुहुन्छ भने धम्क्याउने हो ।’
साहायक बन अधिकृत भुजेलले एकहप्ता भित्रमा काजजात मिलाएर ल्याउन समेत उपभोक्ता समितिलाई दवाव दिएको स्रोतको भनाई छ । उपभोक्ता समिति भने अबैध निर्णय गर्न नसक्ने भन्दै कानुन बमोजिम दोषीलाई बन कार्यालयले कारवाही गर्नुपर्ने पक्षमा रहेको छ ।
बन समितिले निर्णयका लागि उपभोक्तासंग छलफल गर्नुपर्ने बताएपछि साहायक बन अधिकृत भुजेलले भने जे गरेपनि आफैले गर्ने भन्दै कसैलाई सोध्नु नपर्ने जिकिर गर्दै निर्णय गर्न दबाब दिएका छन् ।
यता बरामले भने भुकम्पको घर बनाउनका लागि आफुले काठ दावी गर्नुभएको छ । उहाँले २०७३ सालमा नै काठ कटानीका लागि निवेदन दिएको जानकारी दिनुभयो । ‘काठ काट्न निवदेन दिएको हो तर समितिले स्विकृति दिएको भने थिएन, बरामले भन्नुभयो, ‘अहिले भुकम्पको घर बनाउनका लागि काठ काटेको हो ।’ बरामले एउटा रुख ढाल्दा लत्रिएका अरु रुढ ढलेको दावी समेत गर्नुभयो ।