काठमाडौ। १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएका गोरखाका चन्द्र घलेले हालसम्म तीन पटकमा २६ किलो सुन तस्करी गरी ल्याएको र एक पटक सुन बोकी आउँदा ७० हजार रुपैयाँ पाउने बयान दिएका छन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसन्धान अधिकृत मनिराम पौडेलसमक्ष घलेले दिएको बयानमा आफूले अन्तिमपटक समेत गरी तीन पटक सुन तस्करी गरी ल्याएको र तस्करीमा गोरखाकै मीनबहादुर घलेको संलग्नता रहेको बयान दिएका हुन् ।
चन्द्रले आफ्नो बयानका क्रममा दुबईमा मीनबहादुर घलेले भनेको व्यक्तिले सुन दिने गरेको र त्यसका लागि ५ दिरामको नोट र कोड नम्बर रहने गरेको पनि बताए । सुन दिने व्यक्ति को हुन् भनेर थाहा नहुने र नेपालबाटै मीनबहादुर घलेले दिएको नोट र कोड नम्बरका आधारमा गिरोहले सुन रहेको ज्याकेट दिने गरेको बयान उनले दिएका छन् ।
दुबईबाट सुन ल्याएर त्रिभुवन विमानस्थलको आगमन कक्षको शौचालयमा रहेको डस्टबिनमा राखिदिने गरेको पनि चन्द्रले बयानमा उल्लेख गरेका छन् । त्यहाँबाट सफाई कर्मचारी, एसी मेण्टिनेन्सका कर्मचारी, प्लम्बर आदिले सुन ल्याएर तस्कर समूहका सदस्यलाई दिने गरेको उनले जनाएका छन् ।
दुबईमा भने सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी भन्सार तिरेरै सुन ल्याउने गरेकोसमेत घलेले बयानमा उल्लेख गरेका छन् । दुबईमा अंकित अग्रवाल र गुरु नाम गरेका व्यक्तिले सुन दिने गरेको घलेको बयानमा उल्लेख छ ।
यस्तो छ घलेको बयान
मैले हालसम्म गरेर तीन पटक यसरी दुबईबाट अवैध रुपमा सुन ल्याएको छु । पहिलो पटक २ पोका, दोस्रो पटक ४ पोका गरी हाल ७ पोका लिएर आएको हुँ । दुबईमा मलाई गुरु भन्ने इन्डियन मूलको व्यक्तिले सुन तयार भएपछि फोन गरेर लोकेसन दिएर बोलाउने गर्दछन् । उक्त लोकेसनमा पुगेपछि मलाई कोही व्यक्ति लिन आउँछन् र मसित भएको दुबईको ५ दिराम टोकन दिएपछि उनीहरु उक्त टोकन भिडाएर मलाई सुन, सुन राखेको ज्याकेट र मेरो नाममा जारी भएको सुनको बिल दिएर पठाउँछन् ।
उक्त सुन बोकेर म आफू बस्ने होटेल आउँछु । आफ्नो फ्लाईटको दिन उक्त सुनको दुबईमा भन्सार तिरेर उक्त भन्सार तिरेको कागज, जहाज चढ्नु अघि च्यातेर सुन ज्याकेटभित्र राखी नेपाल ल्याउने गर्दछु । म दुबईमा आफूले लगाएको ज्याकेटभित्र सुन राखी बोर्डिङ पास जारी गर्ने क्षेत्रसम्म जान्छु र बोर्डिङ पास जारी भएपश्चात इमिग्रेसन क्षेत्रमा रहेको गोल्ड डिक्लेरेसन डेस्कमा गएर उक्त परिमाणको सुनको मेरो नाममा जारी भएको बिल देखाइ डिक्लेयर गरी झोलामा राखेर सेक्युरिटी चेकजाँच गरेर यात्रु प्रतीक्षा क्षेत्रमा गइ पुनः शौचालयमा गएर आफूले लगाएको ज्याकेटभित्र राखी ल्याउने गर्दछु ।
मेरो काम दुबईबाट सुन ल्याएर नेपालको विमानस्थलको आगमन क्षेत्रको अध्यागमन कार्यालयको शौचालयमा रहेको रातो डस्टबिनमा छोड्ने हो । उक्त सुन त्यहाँ छोड्ने काम मीनबहादुर घलेले भने अनुसार गरेको हुँ । आफूले दुबईमा प्रयोग गर्ने सिमको नम्बर ९७१५०२०९२५६५ वा ९७१५२८२८९०९४ हो र सिम मेरै नाममा छ । म सँग दुईवटा सिमकार्ड छन् ।
पहिलेको सिम कार्ड लक भएकाले अर्को सिम कार्ड किनेको हुँ । उक्त नम्बर मीनबहादुर घलेलाई दिनको लागि मैले दुबईबाट फोन गरेर जानकारी गराएको हुँ । मीनबहादुर घलेले पुरानो सिम पनि पुनः सक्रिय गराउन निर्देशन दिएपछि मैले सो सिम पनि सक्रिय बनाएको छु । मलाई युएईको भिसा र टिकट मीनबहादुर घलेले उपलब्ध गराएका हुन् । उक्त कार्यमा लाग्ने सम्पूर्ण रकम मलाई मीनबहादुर घलेले उपलब्ध गराउने गर्दछन् । मिति २०८०।०८।२२ मा बरामद भएको १४ केजी सुन मलाई दुबईमा एक जना अपरिचित भारतीय मूलको व्यक्तिले गोलक्वेस्ट मार्केटको गेट नम्बर २ मा फोन गरेर बोलाएपछि दुबईको ५ दिराम ९टोकन० भिडाएर उपलब्ध गराएका हुन् । सो बरामद भएको सुन मैले बोकी ल्याएको सुन हो । हेरि चिन्ही सनाखत गरिदिए ।
घलेको बयान अनुसार नेपालबाट उनलाई गोरखाकै मीन बहादुर घलेले सुन तस्करीका लागि सघाउने गरेका थिए । तस्कर समूहले आफूलाई सहयोग गर्ने व्यक्तिको पहिचानका लागि ५ दिरामको नोट प्रयोग गर्ने गरेको घलेको बयानबाट प्रस्ट हुन्छ । उक्त नोट लिएर जाने व्यक्ति र निज व्यक्तिसँग भएको कोड मिलेपछि मात्रै दुबईमा रहेका तस्कर समूहले सुन दिएर पठाउने गरेको पाइएको छ ।
सो कुराको पुष्टि हुने बयान चन्द्र घलेलाई सुन पठाउने मीनबहादुर घलेले पनि आफ्नो बयानमा उल्लेख गरेका छन् । मीनबहादुर घलेको बयानको एक अंश यस्तो छ
‘ अंकित अग्रवाललाई ९मोबाइल नम्बर ८५२९५३३७२२३० फ्लाई दुबईको बुकिङ रेफरेन्स नम्बर भएको टिकट मैले ह्वाट्सएपमा ५ डिसेम्बर २०२३ समय १५ः१९ मा पठाएको थिएँ । भनेको भोलि चन्द्र घलेसँग भेटघाट गर्नु भनी भनेको हो । च्याटको क्रममा अंकित अग्रवाललाई ९मोबाइल नम्बर ८५२९५३३७२२३० भनी सोधेको जवाफमा ९समय १५ः२३ देखि १५ः२४० भनेकोमा भनी जवाफ आएको र मैले थ्यांक यु समेत भन्नु भएको देखिन्छ भन्ने सम्बन्धमा म केही खुलाउन चाहन्न । उक्त च्याटमा, समय १५ः२६ मा अंकित अग्रवाललाई मोबाइल नम्बर ८५२९५३३७२२३ भनी भनेकोमा उक्त उक्त टोकन चन्द्र घले नै हो भन्ने प्रमाणको रुपमा पठाएको हो ।’
यसरी तस्कर समूहले तस्करीका लागि भरियाको प्रयोग गर्दा पनि कोड नम्बर प्रयोग गर्ने गरेको समेत खुलेको छ भने भरियाले दुबईबाट सुन ल्याइ विमानस्थलको आगमनकक्षको शौचालयको डस्टबिन, लकर आदिमा सुन रहेको ज्याकेट राखिदिने र विमानस्थलमा काम गर्ने सफाइ कर्मचारी लगायतले उक्त सुन चेकजाँच नहुने बाटो हुँदै बाहिर ल्याउने गरेको खुलेको हो ।
