Skip to content
Pokharapress Logo
२१ भाद्र २०८३, आईतवार

म पाखे भएँ!

loading views..
Nepal Telcome

आमाले भन्नुभएको थियो ।
ज्वाइँको ख्याल राख छोरी !
त्यही वचन सम्झेर सधैं साँझमा
धरखराएर आए पनि
कचौरामा तेल लिएर मालिस गर्दिन्थें ।
त्यो त उनलाई भएन अरे
मसाज गर्न नजानेर
म पाखे भएँ ।
गाउँमा जन्मिएर गाउँमै हुर्किएकी म
मैले भकारो सोर्न जानेकी थिएँ ।
तर यहाँ पतिले ओकलेको फोहोर
सोर्न नमानेर
म पाखे भएँ।
अनि मैले डाँडा पाखामा लहरो समाएर
वल्लो डाँडाबाट पल्लो डाँडा गर्थें।
यो शहरमा किनमेल गर्ने ठाउँका
भर्‍याङ (लिफ्ट) चढ्न नजानेर
म पाखे भएँ।

सुनेकी थिएँ

सौभाग्य र सृंगार भनेकै सिन्दुर पोते हो
त्यसैले शिर र गलाबाट हटाउन चाहिन ।
सधैं सिउँदो काडेर सिन्दुर लगाएँ
लगनको पोते लगाइ राखें
यता त सृंगार अनेक थरी पोत्नुलाई भन्दारहेछन्
बट्टा बट्टाका ती अनेक थरी पोत्न नजानेर
म पाखे भएँ।
मायाकै कुरा गर्नु भने पनि
म उनलाई यो सन्सार भरिको माया गर्थें
जहाँ गएकै भएपनि कुरेर बसेर
उनलाई खान नदिई कहिल्यै खाइन मैले
मैले जसरी उनको मन जित्न खोजेपनि
त्यो मेरो माया माया भएन रे
परिवारको सामु अनि आफन्तको अगाडि
अंकमाल ( hug) गर्न नमानेर
म पाखे भएँ ।
बा,आमा र दाजुले भन्नुहुन्थ्यो
हाम्री जेठी छोरी भाग्यमानी रहिछे
शहरमा पुगी ।
तर दाजु !
कान्छीलाई शहरमा दिएर पाखे नबनाउनु है!
बा! बरु मलाई पल्लो गाउँको
भरिया कान्छाको छोरा माग्न आउँदा
दिएको भए त्यही भिरपाखामा रमाउँथें ।
लवाई ,खुवाई ,हिडाई ,बोलाईमा
हरेक दिन म पाखे बन्न पर्दैनथ्यो ।
हो बा !हो आमा ! आज हजुरहरुको
संस्कार र उपदेश नै पाखे भएकोछ ।
मेलापात, घाँस दाउरामा सबैलाई
म बिना खल्लो लाग्थ्यो भन्थे
तर आज त्यो गाउँकै छोरी
यो शहरमा पाखे भएकी छु।

#अम्बिका_कार्की
सर्लाही वाग्मती नपा
हाल चितवन भरतपुर

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link