तनहुँ,४असार। तनहुँमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम र नेपाल प्रहरीको संयुक्त सहकार्यमा वैदेशिक रोजगारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा सञ्चालित यस कार्यक्रममा सामी जिल्ला कार्यक्रम संयोजक लुना राना र प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरेले सहजीकरण गर्नुभयो।
कार्यक्रममा वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्तिहरू र सम्बन्धित सरोकारवालाहरूलाई सुरक्षित, मर्यादित र व्यवस्थित आप्रवासनका विषयमा विस्तृत जानकारी दिइयो। विदेश जाँदा अपनाउनुपर्ने कानुनी प्रक्रिया, श्रम स्वीकृति, भरपर्दो रोजगारदाता र म्यानपावर कम्पनीको छनोट, सम्भावित जोखिम कम गर्ने उपाय, मानव बेचबिखन र ठगीबाट बच्ने तरिकालगायत विषयहरूमा जानकारी प्रदान गरियो।
समस्यामा परेका श्रमिक तथा उनीहरूका परिवारले पाउन सक्ने सेवा र सहयोगबारे पनि छलफल भयो। कार्यक्रमको सञ्चालन व्यास नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले गर्नुभयो। सहभागीहरूले यस कार्यक्रमबाट वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउन उपयोगी जानकारी प्राप्त भएको बताए। (tanahunpress)




