Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

नेपाल टेलिकमका यी नम्बरबाट लिन सकिन्छ निशुल्क सुबिधा

loading views..
Nepal Telcome

पोखरा। नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न सकिन्छ। हाल कम्पनीले उपलब्ध गराइरहेको १९१, १९७, १९८ र १४९८ नम्बरहरु कम्पनीद्वारा प्रदत्त विभिन्न सेवाहरुका बारेमा बुझ्न र गुनासा टिपाउन धेरै नै उपयोगी बनेका छन्। सोधपुछ तथा गुनासा व्यवस्थापनका लागि प्रयोग गरिएका यी नम्बरहरु ग्राहककै सहजताका लागि निःशुल्क गरिएका छन्।

१९१: (Customer care सेवा) जीएसएम, सीडीएमए र वाइम्याक्स सेवाको बारेमा जानकारी लिनका लागि १९१ नम्बरमा कल गर्न सकिन्छ। १९१ नम्बरमा कल गरेपछि प्राप्त निर्देशन अनुसार जीएसएमको लागि अंक १, सीडीएमएको लागि अंक २ र वाइम्याक्सका लागि अंक ३ थिच्नुपर्छ। त्यसपछि सम्बन्धित सेवाका बारेमा जिज्ञासा राख्न र गुनासो टिपाउन सकिन्छ।

१९७: नेपाल टेलिकमको ल्यान्डलाइन अर्थात स्थानीय टेलिफोनको नम्बर थाहा पाउनका लागि १९७ नम्बरमा मोबाइल वा कुनैपनि टेलिफोन नम्बरबाट कल गर्न सकिन्छ। त्यसपछि अपरेटरले ग्राहकले खोजेको व्यक्ति वा संस्थाको टेलिफोन नम्बर टेलिफोनबाटै उपलब्ध गराउँछ।

हाल आफूलाई चाहिएको व्यक्ति वा संस्थाको ल्यान्डलाइन नम्बर कम्पनीको वेबसाइटमा उपलब्ध लिंक https://ntc.net.np/fixed-line-enquiry मा गएर पनि खोज्न सकिन्छ। व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ भने संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर खोज्न सकिन्छ।

१९८:  नेपाल टेलिकमका सेवाहरुका बारेमा गुनासो टिपाउनका लागि १९८ नम्बरमा डायल गर्न सकिन्छ। नेपाल टेलिकमले सञ्चालन गरिरहेको तारवाला स्थानीय टेलिफोन, एडीएसएल, भिस्याट टेलिफोन, फाइबर टु द होम (एफटीटीएच) र लिज लाइन मर्मतका लागि यसको प्रयोग गर्न सकिन्छ।

१९८: नम्बरमा कल गरेपछि स्वचालित सिस्टमबाट प्राप्त निर्देशन अनुसार टेलिफोन कम्प्लेनको लागि अंक १, एडीएसएल कम्प्लेनको लागि अंक २, भिस्याट कम्प्लेनको लागि अंक ३, एफटीटीएच कम्प्लेनको लागि अंक ४ र लिज लाइन कम्प्लेनको लागि अंक ५ थिच्नुपर्छ। त्यसपछि दिइएको निर्देशन अनुसार मर्मत गर्नुपर्ने नम्बर उपलब्ध गराएपछि कम्पनीको तर्फबाट मर्मत कार्यको प्रक्रिया अगाडि बढ्छ।

१४९८: मोबाइल र वाइम्याक्स सेवाको बारेमा जानकारी लिनका लागि १४९८ मा फोन गर्न सकिन्छ। मोबाइल तथा वाइम्याक्स सेवा सम्बन्धी कुनै जिज्ञासा वा गुनासो मात्र नभई सेवा प्रयोगका बारेमा कुनै जानकारी प्राप्त गर्नुपरेमा पनि यस नम्बरमा कल गर्न सकिन्छ।

यसका अलावा नेपाल टेलिकमको कम्पनीको वेबसाइट, नेपाल टेलिकम एप, कम्पनीको फेसबुक, ट्विटरलगायतका विभिन्न सामाजिक सञ्जालहरुबाट पनि कम्पनीका सेवाहरुका बारेमा आवश्यक जानकारी प्राप्त गर्न सकिन्छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link