Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

‘भूपि पुरस्कार’ लेखक एवं समालोचक सुकुम शर्मालाई

loading views..
Nepal Telcome

 

पोखरा। धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘भूपि पुरस्कार’ लेखक एवं समालोचक सुकुम शर्मालाई प्रदान गर्ने भएको छ।प्रबन्ध समितिको बुधबार बसेको बैठकले ‘सिर्जनाका परिधिमा भूपि शेरचन’ समालोचनात्मक कृतिका लागि शर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो। रु.२५ हजार राशिको सो पुरस्कार यही १० पुसमा ८६ औँ भूपि जयन्ती समारोहमा सर्मपण गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिए।
यसअघि प्रतिष्ठानले पुरस्कारका लागि कवि भूपि शेरचनको व्यक्तित्व र कृतित्वमाथि लेखिएका समालोचनात्मक कृति आह्वान गरेको थियो। प्रतिष्ठानको मूल्याङ्कन समितिले शर्माको कृतिलाई छनोट गरेको हो।
स्याङ्जाको पुतली बजार नगरपालिकामा जन्मिएका शर्माका ‘‘नेपाली व्याकरणको ऐतिहासिक सर्वेक्षण’, ‘कवि इच्छुकः कविता सन्दर्भमा’, ‘पारिजातका कविताको अध्ययन’लगायत समालोचनात्मक कृति प्रकाशित छन्। शर्माका कथा, कविता र गीत सङ्ग्रह पनि प्रकाशित छन्।
प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई गरी आलोपालो वर्षेनी पुरस्कार प्रदान गर्दै आएको छ। गत वर्ष संस्थागततर्फको पुरस्कार थकाली समाज बुटवलले पाएको थियो। समाज भूपिको स्मृतिमा प्रवेशद्वार, सालिक, पुस्तकालय, अक्षयकोष निर्माणलगायत भाषा, साहित्यको प्रर्वद्धनमा सक्रिय छ।
यस्तै साहित्यकार लकाश पौडेललाई ‘भूपि सम्मान’ प्रदान गरिने प्रतिष्ठानले जनाएको छ। २०७३ सालमा स्थापित पुरस्कार कोषमा हालसम्म रु.७ लाखभन्दा बढी जम्मा भएको छ। जनस्तरबाट सहयोग जुटाएर पुरस्कार कोष खडा गरिएको हो। १९९० सालमा मुस्ताङको टुकुचेमा जन्मिएका भूपि नेपाली साहित्यका प्रसिद्ध कवि हुन्।रासस

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link