Skip to content
Pokharapress Logo
१ जेष्ठ २०८३, शुक्रबार

अर्जेन्टिना फाइनलमा

loading views..
Nepal Telcome

पोखरा। अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । लुसेल रंगशालामा क्रोएसियामाथि ३-० को शानदार जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा पुगेको हो ।अव उसले भोलि हुने मोरोक्को र फ्रान्सको विजेतासँग फाइनल खेल खेल्नेछ ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ र कप्तान लिओनेल मेस्सीले १ गोल गरेका थिए । पहिलो हाफमै २-० को अग्रतामा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा थप एक गोल थप्दै जित पक्का गरेको थियो ।
पहिलो हाफमा क्रोएसियाले लगातार दबाब बनाएपनि त्यसलाई डरलाग्दो आक्रमणमा परिणत गर्न नसक्दा अर्जेन्टिनाले पाएको कमजोर अवसरमा गोल गर्न सफल भयो । पहिलो गोल पेनाल्टीमा गरेको अर्जेन्टिनाले दोस्रो गोल भने काउन्टर अट्याकमा क्लियर हुन् नसकेको बलमा गोल गऱ्यो ।
दोस्रो हाफमा अर्जेन्टिनाले सुरुवातदेखि बल पोसेसनमा पकड जमाउँदै क्रोएसियालाई खेलमा फर्कन दिएन । अर्जेन्टिनाले पटक पटक आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखिरह्यो । मेस्सीले एकल प्रयासमा तेस्रो गोलको अवसर सिर्जना गर्दै अर्जेन्टिनालाई फाइनल नजिक पुऱ्याए।
खेलको ३४ औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई १-० ले अघि बढाए । पेनाल्टी क्षेत्रभित्र जुलियन अल्भारेजलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
३९ औं मिनेटमा अल्भारेजले अग्रता दोब्बर पारे । काउन्टर अट्याकमा मिडफिल्डदेखि आफैं बल अघि बढाएका उनले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गरे । क्रोएसियाका दुई डिफेन्डरले बल क्लियर गर्ने अवसर पाएपनि त्यसमा कमजोर क्लिअर गर्दा दुवै पटक अल्भारेजको खुट्टामा बल पुगेको थियो । अन्त्यमा अल्भारेजले वन भर्सेस वनमा सहजै गोल गरे ।
४२ औं मिनेटमा अर्जेन्टिनाको अर्को गोलसामु लिभाकोभिच बाधक बने । मेस्सीको कर्नरमा निकोलस टाग्लीयाफिकोले पोस्टतर्फ पठाएको बललाई लिभाकोभिचले बचाए । पहिलो हाफमा अर्जेन्टिनाले २-० को अग्रता जोगाउन सफल भयो ।
५८ औं मिनेटमा लिभाकोभिचले अर्जेन्टिनालाई अग्रता थप्न दिएनन् । लिओनेल मेस्सीले जुलियन अल्भारेजसँग वन टु पास खेलेपछिको प्रहारलाई क्रोएसियाका गोलरक्षकले विफल पारे । तर ६९ औं मिनेटमा अर्जेन्टिनाले ३-० को अग्रता लियो । लिओनेल मेस्सीले दायाँ विंगबाट एकल प्रयासमा युवा डिफेन्डर जोस्को भार्डीओललाई छक्याउँदै पेनाल्टी क्षेत्र भित्रआएर दिएको कटब्याकमा अल्भारेजले पहिलो टचमा फिनिस गरे ।
अर्जेन्टिना यसअघि १८ वटा विश्वकपमा सहभागी भइसकेको छ। यो उसको लगातार तेह्रौं विश्वकप हो। दुई पटकको विश्वविजेता अर्जेन्टिना पछिल्लोपटक २०१४ मा फाइनलमा पुगेको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link