काठमाडौं । संसद विघटन तथा संवैधानिक परिषदमा नियुक्ति लगायतका मुद्दामा आन्दोलनरत् नेकपाको प्रचण्ड–माधव पक्षले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ ।
आन्दोलनलाई सशक्त बनाउन आयोजना गरिएको शक्ति प्रदर्शनमा सहभागी हुन देशभरीका अगुवा कार्यकर्ता राजधानी आइपुगेका छन् ।
नेकपाले आज दुई लाख भन्दा बढी कार्यकर्ता सहभागी हुने दावी गरेको छ ।
आज हुने प्रदर्शनका लागि पाँच वटा आर्क निर्धारित गरिएका छन् । हरेक आर्कलाई शीर्ष तहका नेताहरुले नेतृत्व गर्नेछन् । सोही आधारमा पार्टीका बिभिन्न संगठनहरुका लागि अलग अलग ठाउँमा जम्मा हुन निर्देशन दिइसकेको छ । अगुवा कार्यकर्ताहरु भने बिहान ८ बजेदेखि नै निश्चित आर्कमा पुग्न थालेका छन् । पछि जाम हुनसक्ने भएकाले सकेसम्म १० बजेभित्र निर्धारित स्थानमा जम्मा हुन बिभिन्न संगठनहरुले निर्देशन दिएका छन् । त्यसो त सहायक जुलुस ११ बजे निर्धारित स्थानबाट अघि बढनेछन् ।
जमल, केशमहल, माइतघर, त्रिपुरेश्वर र पुल्चोकमा जम्मा हुने कार्यकर्ताहरु मूल ब्यानर बिभिन्न संगठनका ब्यानरसहित मूल जुलुसमा मिसिने कार्यक्रम रहेको छ । यी सबै सहायक जुलुसहरु अपरान्ह १२ बजे सुन्धारा पुग्नेछन् । मूल जुलुसको नेतृत्व भने पार्टीका अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, झलनाथ खनाल, संघर्ष समिति संयोजक नारायणकाजी श्रेष्ठलगायतले गर्नेछन् ।
मूल जुलुस सुन्धाराबाट बागबजार पुतलीसडक हुँदै सभास्थलसम्म पुग्ने कार्यक्रम रहेको छ ।