पोखरा। संसद विघटनपछि दुई धार देखिएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मधेस यात्रामा निस्किएका छन् ।
पार्टीको १४औँ महाधिवेशनको मिति टुंगो लागिसकेको अवस्थामा उनले महाधिवेशनलक्षित मधेस सम्मान यात्रा सुरु गरेका हुन् । पौडेलले कांग्रेसभित्र संसद् पुनस्र्थापनाको मुद्दा लिएर पार्टी आन्दोलनमा जानुपर्ने मत राख्दै आएका छन् ।
सुनसरीको धरानमा बीपी कोइरालाको सालिक अनावरण गरेर मधेसतिर लागेका पौडेलले आइतबार सप्तरी प्रेस युनियनको पत्रकार सम्मेलनमार्फत ‘मधेस सम्मान यात्रा’ गर्ने घोषणा गरेका थिए । १३ फागुनसम्म उनले सप्तरी, सिराहा, धनुषा र महोत्तरीका १३ वटा निर्वाचन क्षेत्रमा पुगेर कार्यक्रम गर्दै छन् ।
यसैअनुसार पौडेलले सोमबार सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा पुगेर कार्यकर्ता भेटघाट गरेका छन् । संविधान र लोकतन्त्रमाथि आक्रमण भएका वेला मधेसका जनताको धारणा बुझ्न आफूले यात्रा सुरु गरेको बताए । ‘मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका हरेक क्रान्तिमा मधेसको योगदान अतुलनीय छ, म मधेस र उहाँहरूको योगदानको सम्मानका लागि मधेस यात्रामा निस्किएको छु । मुलुकमा संविधान र लोकतन्त्रमाथि आक्रमण भएका वेला मधेसका जनताको धारणा पनि बुझ्नु छ,’ पौडेलले भने । नयाँ पत्रिका दैनिकमा समाचार छ