नवराज सिंखडा ‘जिज्ञासु’: पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो नाम नेपाली राजनीतिक इतिहासमा केवल सम्झनु पर्ने पात्र होइन, भोगिने अनुभव हो। कास्कीको ढिकुरपोखरीबाट सुरु भएको यात्रा सिंहदरबारको सर्वोच्च सत्तासम्म पुग्यो, त्यो पनि बन्दुकको नालबाट सुरु भई जनयुद्धको आँधी हुँदै। उनी विद्रोहका नायक थिए, जसको एक भाषणले राज्यसत्ता थर्थराउँथ्यो। त्यो विद्रोहले राजा फाल्यो, गणतन्त्र ल्यायो, र दशौं हजारको बलिदानसहित नयाँ युगको प्रारम्भ गर्यो।
तर, युद्ध जित्ने हातले शान्तिको बाटो सम्हाल्नु सजिलो हुँदैन। प्रचण्डले त्यो मार्ग रोजे। बन्दुक थाम्ने हातले संसदको ढोका खोल्दै संवादको कुर्सी सम्हाले। त्यो रूपान्तरण ऐतिहासिक थियो। सशस्त्र नेतृत्वबाट सहमतिमूलक राजनीतिमा रूपान्तरण हुनु सामान्य कुरा थिएन। उनी संक्रमणको जटिल मोडमा पनि अडिग रहे, संयमित देखिए।
संवादको यात्रामा उनले आवश्यकताअनुसार कोमलता पनि देखाए। यही कोमलता कहिले संयमता बन्यो, कहिले आलोचना। तर यही संयमता आजको गणतन्त्रको जग बन्यो। प्रचण्ड सशक्त निर्णयकर्ता थिए,ठोस समयमा निर्णय लिन सक्ने आँट, अडान, र त्यसको परिणाम सहन सक्ने हिम्मत उनीमा थियो। यद्यपि, उनका केही निर्णयहरू पार्टी सन्तुलन र वैचारिक स्पष्टताका हिसाबले चुकेका देखिए। आलोचकहरू भन्छन्, उनको राजनीति समयसँगै सत्ता–केन्द्रित हुँदै गयो, सिद्धान्तहरू ओझेलमा परे। तर त्यो विचलन स्वेच्छाले रोजिएको थियो कि समयले थोपरेको थियो,अझै बहसकै विषय हो।
तर एक कुरा स्पष्ट छ-कठिन परिस्थितिमा पनि उनी मार्गभ्रष्ट भएनन्। सत्ता गुमे पनि, आलोचना झेले पनि, पुनः अग्रपंक्तिमा फर्किए। स्थायित्व र संक्रमणको साक्षी बन्ने नेताहरूको पंक्तिमा उनी अग्रणी छन्।
पछिल्लो कार्यकालमा उनले सुशासन र भ्रष्टाचार विरोधका नारासहित प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले। जटिल गठबन्धन र अवरोधबीच उनले केही ठोस कदम पनि चाले। भुटानी शरणार्थी घोटाला, ललिता निवास प्रकरण, सुन तस्कर जस्ता विषयमा अनुसन्धान अघि बढाउनु र ११ हजारभन्दा बढी उजुरीमा कारबाही, ७८ मुद्दा दायर, ११ अर्बभन्दा बढी राजस्व फिर्ता ल्याउनुजस्ता पहल उल्लेखनीय छन्। उनले कुर्सीको औचित्य प्रमाणित गर्न खोजे।
तर, उनको यात्रामा केवल सफलताका पाना छैनन्। केही पानामा गुमेका अवसरहरू, नीतिगत अस्पष्टता, र जनभावनासँगको दूरी पनि छन्।
२०६७ सालको ६ दिने आमहड्ताल त्यसको ज्वलन्त उदाहरण हो। आन्दोलन उत्कर्षमा पुग्दापुग्दै उपलब्धिविनै फिर्ता गरिएको त्यो निर्णयले कार्यकर्ता मात्र होइन, सर्वसाधारण पनि स्तब्ध बने। आन्दोलनको ऊर्जा अधुरो रह्यो, र नेतृत्वमाथि अविश्वास अंकुरियो। एमसिसी प्रकरण अझै पनि जनमानसमा ताजै छ। सडकमा राष्ट्रघातको नारासहित विरोध जनाएका नेतृत्वले त्यसै सम्झौता–विहीन प्रस्ताव पारित गरिदिए। त्यो द्वैध चरित्रले पार्टीको नैतिक धरातल हल्लायो।
भर्खरैको भिजिट भिषा प्रकरणमा पनि संसद १७ दिन अवरुद्ध गरियो, गृहमन्त्रीको राजीनामाको माग गरियो, छानबिनको चर्को स्वर गुञ्जायमान भयो। तर अन्त्यमा सत्तासँग सम्झौता गर्दै गृहमन्त्री जोगाइयो। यस घटनाले जनविश्वासमा गहिरो आघात पुर्यायो। क्रान्तिको पक्षधर पार्टी सत्ता जोगाउने गठबन्धनको जिम्मेवारमा सीमित भएको आरोप बलियो बन्यो।
यी निर्णयहरू तत्कालीन रणनीतिक देखिए पनि दीर्घकालीन सन्दर्भमा जन–आस्था खस्काउने कारण बने। आज प्रचण्डमाथिको आलोचना केवल विपक्षीका मुखमा सीमित छैन, उनका आफ्नै पार्टीभित्र पनि प्रश्न उब्जिएका छन्। जनयुद्धमा जीवन अर्पण गर्ने कार्यकर्ता, त्यागी युवाहरू, र परिवर्तनमा भरोसा राख्ने जनताको नजरमा उनका आशा–अभिनव छविमा अन्योल छ।
यद्यपि, समग्र मूल्याङ्कन गर्दा प्रचण्डका उपलब्धिहरू गह्रौं देखिन्छन्। गणतन्त्र स्थापना उनीविना सम्भव थिएन भन्ने ऐतिहासिक यथार्थ अझै स्थिर छ। तर इतिहास बनाउने मात्र होइन, जोगाउने दायित्व पनि इतिहासकै पात्रको काँधमा हुन्छ। आजको समयले नयाँ सपना होइन, पुराना सपनाहरूको कार्यान्वयन खोजिरहेको छ—त्यो सपना, जसको जग जनयुद्धले तयार पारेको थियो, र शिर शान्तिप्रक्रियाले उठाएको थियो।
प्रचण्डसँग अझै पनि जनविश्वास पुनः प्राप्त गर्ने अवसर बाँकी छ। तर त्यो अवसर भाषण होइन, व्यवहारले जित्नुपर्छ। किनभने नेतृत्वको अन्तिम परीक्षा जनताको मनभित्र हुन्छ। यदि त्यो परीक्षा पास गर्न सकिएन भने, सिंहदरबार पुगे पनि इतिहासले सम्मान गर्दैन।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.