काठमाडौं, ३० साउन । मुलुकका २० वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा ७१ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएका छन्। यो अघिल्लो वर्षको तुलनामा ४३.९७ प्रतिशत वृद्धि हो। कागजमा बैंकहरूको नाफा उकालो लागे पनि यसको मूल कारण ‘व्यापारिक गतिशीलता’ भन्दा बढी ‘नियामकीय सहजीकरण’ रहेको देखिन्छ।
नेपाल राष्ट्र बैंकले वित्तीय विवरण बुझाउने म्याद १५ दिन थप्नु, २ करोडसम्मको लघु, घरेलु, साना तथा मझौला कर्जा पुनर्संरचना, निर्माण क्षेत्रमा ऋण पुनर्तालिकीकरण र चालु पुँजी कर्जा मार्गदर्शनमा गरिएको संशोधनले बैंकहरूको प्रोभिजनिङ भार घटाइदियो। यसरी ‘रेगुलेटरी छाता’ मुनि बसेर नाफा देखाए पनि यसले वास्तविक बजार क्षमताको मापन गर्दैन भन्ने विश्लेषकहरू चेतावनी दिन्छन्।
अग्रपंक्तिमा नबिल, पछिपछि एनआईसी एशिया
२० बैंकमध्ये सबैभन्दा उच्च नाफा नबिल बैंकले ७ अर्ब १२ करोड ७५ लाख कमाउँदै ‘नाफा सिंहासन’मा बस्न सफल भयो।
यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा (६ अर्ब ७५ करोड ६६ लाख) र ग्लोबल आइएमई (६ अर्ब २० करोड ४७ लाख) क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
तर, बजारमा ‘आक्रामक विस्तार’को दाबी गर्ने एनआईसी एशिया बैंक भने १६ करोड १५ लाख नाफामा खुम्चिँदै अन्तिम स्थानमा पुग्यो। अघिल्लो वर्षको ७० करोड १४ लाख नाफाबाट ७७% गिरावटले यसका रणनीति र प्रबन्धनमा गम्भीर प्रश्न उठेको छ।
नाफा वृद्धिदरका ‘चमत्कार’
कुमारी बैंकको नाफा वृद्धिदर ४५,८२१% पुगेको छ, नेपाल बैंकको १३,१७५% र प्रभु बैंकको ९६५% रहेको छ। यस्तो प्रतिशतले साधारण पाठकलाई ‘बैंकले अद्भुत कमाल गरेको रहेछ’ भन्ने भान भए पनि यसको ठोस कारण नियामक सहजीकरण हो, जसले वास्तविक बजार जोखिमलाई छोपिदिएको हो।
नाफा घटेका बैंकहरू
एनआईसी एशिया — –७७%
नेपाल एसबिआई — –१०%
स्ट्याण्डर्ड चार्टर्ड — –७.५%
सिटिजन्स — –२%