पोखरा । दुबईले नेपाली नागरिकलाई भ्रमण (भिजिट) भिसा दिन सोमबारदेखि पूर्ण रूपमा रोक लगाएको छ। यसबारे कुनै औपचारिक जानकारी सार्वजनिक नगरिए पनि नेपालीले अब दुबईका लागि भिजिट भिसा आवेदन दिनै नपाउने अवस्था बनेको छ।
एक ट्राभल्स एन्ड टुर्सका सञ्चालकका अनुसार आइतबारसम्म नेपालीका लागि भिसा आवेदन गर्न सकिने तर त्यस दिन दर्ता भएका सबै आवेदन अस्वीकृत भएका थिए। “सोमबारदेखि त नेपालीको नाम भिसा कोलममै देखिँदैन, तर भारतीयको भिसा भने जारी भएको छ,” उनले बताए।
नेपाली राजदूत तेजबहादुर क्षेत्रीले युएई सरकारले औपचारिक जानकारी नदिएको उल्लेख गर्दै यो अस्थायी निर्णय हुनसक्ने बताए। यद्यपि, दुबईले यसअघि पनि गत डिसेम्बरदेखि नेपालीलाई भिसा दिन कठिन बनाएको थियो। त्यसबेला धेरै नेपालीहरूले शारजाह राज्यको भिसा लिएर दुबई जाने गरेको अधिकारीको भनाइ छ।
भिसा रोक्ने सम्भावित कारणहरू
धेरै नेपाली भिजिट भिसामा गएर त्यहीँ काम खोज्ने वा गैरकानुनी रूपमा बस्ने गरेको।
युएईलाई ट्रान्जिट बनाएर युरोप वा अमेरिका जानेक्रम बढेको।
यस क्रममा धेरै नेपाली ठगिनेसमेत गरेको।
हालै नेपालमा भदौ २४ गतेको आन्दोलनपश्चात कैदी फरार भएको घटना सुरक्षा चिन्तासँग जोडिएको अनुमान।
एक ट्राभलस एण्ड टुर्स सञ्चालकका अनुसार, अमेरिकाको भिसा भएका नेपालीले भने त्यसकै आधारमा दुबई जान सक्नेछन्। “वार्षिक ५० हजारभन्दा बढी नेपाली दुबई घुम्न जान्थे। अहिलेको रोकले हाम्रो व्यवसायमा ठूलो असर परेको छ,” उनले दुखेसो पोखे।
हाल युएईमा करिब ८ लाख नेपाली रहेको अनुमान छ।