पोखरा, २ मंसिर ।समाजसेवी टेक प्रसाद सुवेदीले आफ्ना छोरा ईशान सुवेदी को जन्मदिनको अवसरमा पोखरा महानगरपालिका वडा नं. २४ स्थित श्री सरस्वती कुञ्ज आधारभूत विद्यालयका विद्यार्थीहरूलाई जाडो मौसमका लागि विभिन्न न्यानो स्वयटर तथा शैक्षिक/खेलकुद सामग्री वितरण गर्नुभएको छ। जन्मदिनमा हुने फजुल खर्च कटौती गर्दै उहाँले विद्यार्थीहरूको हितमा उक्त सहयोग गर्नुभएको हो।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै टेक प्रसाद सुवेदीले आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न परिवारका छोराछोरीलाई गुणस्तरीय र राम्रो शिक्षा प्रदान गर्न विद्यालय परिवारलाई विशेष अनुरोध गर्नुभयो। उहाँले शिक्षा नै विकासको मुख्य आधार भएकाले कोही पनि बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित हुन नहुनेमा जोड दिनुभयो। साथै, उहाँले आगामी दिनहरूमा पनि विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि यसैगरी निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
सोही कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवीप्रसाद गौतमले जन्मदिनको अवसरमा विद्यालयका बालबालिकालाई सम्झिएर न्यानो स्वयटर प्रदान गर्नुभएकोमा सुवेदी परिवारप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले यस्ता रचनात्मक र सामाजिक कार्यले विद्यार्थीहरूको पठनपाठनमा थप उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै विद्यालयको शैक्षिक उन्नयनका लागि सरोकारवाला सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो।
कार्यक्रमको समापन मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भानुभक्त दाहालले जन्मदिनको पावन अबसरमा विद्यार्थीहरूलाई न्यानो माया र उपहार प्रदान गर्नुभएकोमा सुवेदी परिवारप्रति पुनः आभार प्रकट गर्नुभयो। अध्यक्ष दाहालले विद्यालयमा अझै विभिन्न समस्या र चुनौतीहरू विद्यमान रहेको उल्लेख गर्दै कार्यक्रममा उपस्थित अतिथिहरू शैलेन्द्र घिमिरे, अमृतराज उपाध्याय, अनुराग चन्द,लक्ष्मी प्रसाद सुबेदी लगायत अन्य शिक्षाप्रेमीहरूबाट आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राखिएको बताउनुभयो।
अन्त्यमा, अध्यक्ष दाहालले प्रधानाध्यापक, शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूलाई सम्बोधन गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबैले घरबाट समयमै विद्यालय आउनुपर्नेमा जोड दिनुभयो। विद्यार्थीहरूलाई अनुशासित र लगनशील भएर अध्ययन गर्न सुझाव दिँदै उहाँले दिन छोटो भएको र समय अभावका कारण कार्यक्रमलाई संक्षिप्त बनाउँदै औपचारिक रूपमा समापन भएको घोषणा गर्नुभयो।







