Skip to content
Pokharapress Logo
२७ मंसिर २०८२, शनिबार

माधब नेपाल समूहले ओलीलाई ठेगान लगाएरै छाड्ने

loading views..

पोखरा।नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने भएको छ ।

सोमबार माधव नेपाल समूहका नेताहरुको छलफलले ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने गरी तयारी गरेको नेता बेदुराम भुसालले जानकारी दिए ।

‘उहाँको प्रस्ताव इमान्दारितापूर्वक एकताको पक्षमा ल्याइएको होइन, हामी बुँदाबुँदामा खण्डन गर्ने गरी लिखित नै तयार गर्छौं’ उनले भने ।

देउवालाई प्रधानमन्त्री सिफारिसका लागि गरिएको हस्ताक्षर फिर्ता नलिने निर्णय भएको छ ।

अध्यक्ष ओलीले नै प्रतिनिधि सभा विघठनको निर्णय फिर्ता लिनु पर्ने सर्त छ ।

संसद विघटन गलत हो भन्ने स्थापित नहुँदासम्म हस्ताक्षर फिर्ता नलिने नेपाल समूहको निर्णय छ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एकताका निम्ति ६ बुँदे प्रस्ताव अघि सारेपछि धारणा बनाउन नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको सोमबार भर्चुअल बैठक बसेको थियो ।

बैठकले अहिले नै हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको हो । ‘सर्वोच्च अदालतमा दायर रिटको हस्ताक्षर संसद् विघटनसँग सम्बन्धित छ । त्यसैले हस्ताक्षर फिर्ताको प्रस्ताव नै गलत मनसायले राखियो’, बैठकमा सहभागी एक नेता भन्छन् । उनका अनुसार ६ बुँदे प्रस्ताव प्रष्ट नभएको र हस्ताक्षर फिर्ता लिनुपर्ने बुँदा गलत मनसायबाट आएको निष्कर्ष बैठकले निकालेको छ ।

ओलीले आइतबार सार्वजनिक गरेको प्रस्तावको चौथो नम्बर बुँदामा ‘अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको हस्ताक्षर फिर्ता हुने हुने छ’ भन्ने उल्लेख गरेका छन् ।

तर यो बुँदा नै गलत भएको माधव समूहका नेताहरुको बुझाइ छ । ‘हस्ताक्षर संसद् विघटनसँग सम्बन्धित छ । संसद् विघटन गलत हो भन्ने पुष्टि नभएसम्म कसरी फिर्ता हुन्छ ?’, एक नेता भन्छन्, ‘ हस्ताक्षर फिर्ता लिनलाई पटक–पटक गरिएको आग्रहले पनि संसद् विघटन गलत थियो भन्ने बुझिन्छ ।’

ओली निकट नेताहरुले यसअघि अनौपचारिक वार्ताहरुमा पनि रिटबाट नेपाल समूहका नेताको हस्ताक्षर फिर्ताको प्रस्ताव राखेका थिए । तर माधव नेपाल निकट नेताहरुले भने पार्टी एकता जोगाउन यो प्रस्ताव नल्याउन आग्रह गरेका थिए ।

अध्यक्ष ओलीले अघि सारेका प्रस्तावमा उल्लेख अन्य बुँदाहरू पनि प्रष्ट नभएको बैठकले निचोड निकालेको छ । ‘जेठ ३ भनेको के हो रु जेठ ३ पूर्वको भनेको प्रष्ट भएन । यसबारे प्रष्ट पारिनु पर्छ’, नेताहरुको भनाइ थियो । यसबारे थप प्रष्टता पार्न ओलीसँग आग्रह गरिने भएको छ ।

पार्टी एकताका निम्ति नेता नेपालले ओलीसँग राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन गर्नुपर्नेमा अहिले पनि अडिग रहने बैठकले निर्णय गरेको छ । तर ओलीले फेरि पनि एकताप्रति इमान्दार प्रयास नगरेर छलछाम गर्न खोजेको नेपाल समूहको आरोप छ । ‘यदि साच्चै एकता चाहेको हो भने प्रष्ट रुपमा हामीले राखेको पार्टी एकतासम्बन्धी प्रस्तावमा उहाँ आउनुपर्छ’, ती नेताले भने ।

ओलीले २ जेठ २०७५ अगाडिको पार्टी संरचना, विधान र नेतृत्वमा फर्किएको उल्लेख नगरी अमूर्त भाषा प्रयोग भएको नेपाल समूहको बुझाइ छ । ‘गल्ती माफी मिनाहा जस्तो कुरा गरिएको छ, तर अध्यक्ष आफैंले गरेको गल्तीबारे केही उल्लेख छैन’, बैठक स्रोत भन्छन् ।

अझ एकताका लागि नेताहरुको रचनात्मक योगदानको आशा गरिएको प्रस्तावमा ‘योगदान गरौं’ भन्ने तत्परता नदेखाइएको पनि बैठकको निचोड छ । बैठकले गरेको निर्णय लिखित रुपमा अध्यक्ष ओलीसँग राखिने पनि निर्णय गरेको एक नेताले बताए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्