पोखरा। आगामी पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुको संख्या २१ पुग्ने भएको छ । झण्डै तीन वर्ष अघि २०७६ मंसिरसम्ममा अस्तित्वमा रहेका ठूला वाणिज्य बैंकहरुमध्ये १३ वटा बैंकहरु एकापसमा गाभिएर ठूलो आकारको पूँजी संरचनासहित छ र मर्ज हुन चाहेका तर, जोडी नपाएका वा नचाहेका बैंकहरु १५ गरी जम्मा २१ वाणिज्य बैंकहरु मात्र संचालनमा रहने भएका हुन् ।
कसरी सुरु भयो बिग मर्जर ?
केही वर्ष अगाडी नै राष्ट्र बैंकका निवर्तमान गभर्नर चिरञ्जिबी नेपालले वाणिज्य बैंकहरुको संख्या धेरै भएको भन्दै बिग मर्जरको प्रस्ताव गरेका थिए । त्यसमा तत्कालिन अर्थमन्त्री डा. यूवराज खतिवडाको समेत सहमति हुँदा आ.ब.२०७६/७७ को मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले ठूला वाणिज्य बैंकहरु गाभ्न वा गाभिन सक्ने व्यवस्था नीतिगतरूपमा नै गरेको थियो । त्यसैको जगमा टेकेर दुई ठूला वाणिज्य बैंकहरु ग्लोबल आईएमई बैंक र जनता बैंक एकापसमा गाभिएर देशकै सबैभन्दा ठूलो पूँजी संरचना भएको वाणिज्य बैंकको रूपमा सेवा दिइरहेको छ भने गत वर्षको अन्त्यमा नविल बैंक र नेपाल बंगालादेश बैंकका बिच पनि मर्ज भएर एकिकृत कारोबार सुरु भैसकेको छ ।
राष्ट्र बैंकले नीतिगत व्यवस्था गरे यता झण्डै तीन वर्षमा बैंकहरुमा मर्जको तिब्र दवाब परेको देखियो तर, एकाध बाहेक कार्यान्वयनमा खासै प्रगति भएको भने देखिएन । यसको ज्वलन्त उदाहरणको रूपमा नेपाल इन्भेष्टमेन्ट बैंक तथा हिमालयन बैंकका बिचमा भएको मर्जर प्रकृयालाई लिन सकिन्छ । मर्जरको अन्तिम चरणसम्म आइपुग्दा मर्जरको प्रकृया नै भाँडिएको थियो भने उनीहरुलाई राष्ट्र बैंकले कारबाहीसमेत गरिसकेको छ ।
उस्तै प्रकृतिका बैंकहरु बिच मर्जर हुने हुँदा राष्ट्र बैंकले सुबिधासमेत उपलब्ध गराउने नीति लिँदा बैंकहरु एकापसमा गाभिन लालाइत भएको देखिन्छ । यसको अर्को मुख्य कारण विगत केही समय यता बैंकहरुमा निरन्तर लगानी योग्य रकमको अभाव हुनु पनि हो । अर्थ विश्लेषकहरुका अनुसार मर्जमा नजाने हो र अहिलेकै जस्तो निक्षेप संकलन गर्न नसक्ने हो भने कतिपय बैंकहरु टाट पल्टिने अवस्थामा पुग्ने देखिन्छ ।
यसका अलवा विगत केही वर्षदेखि मौद्रिक नीतिमार्फत मर्जरमा जोड दिँदै आएको राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत आगामी पुषसम्ममा मर्जर प्रकृयामा सहभागी भएमा बैंकहरुलाई थप सुविधा उपलब्ध गराउने जनाएपछि पनि बैंकहरु मर्जरका लागि थप सक्रिय बनेका हुन् ।
कुन बैंकसँग कुन बैंक हुँदैछन् मर्ज ? कति छ रेसियो ?
१. नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक : हिमालयन बैंकसँगको मर्जर सम्झौता भंग भएपछि नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्ज गर्ने अन्तिम सहमति गरेको छ । मर्जर प्रकृयालाई आगामी पुषको २२ गतेसम्ममा सकेर एकिकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले निर्देशन गरेपछि उनीहरुको मर्जर प्रकृया पेचिलो बनेको हो ।
इन्भेष्टमेन्ट बैंकले मेगालाई १ः०.९ स्वाप रेसियोमा प्राप्ति गर्नेछ । मर्जर पश्चात बैंकको चुक्ता पूँजी ३४ अर्ब ४३ करोड सहित नेपालकै पहिलो चुक्ता पूँजी भएको बैंक हुनेछ । त्यस्तै मर्जरपश्चात बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हुने छ ।
२. ग्लोबल आईएइ बैंक र बैंक अफ काठमाण्डू (जनता बैंक) : ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबिच पनि एकापसमा गाभिने सहमति भैसकेको छ । गाभिएपश्चात बैंकको नाम ग्लोबल आईएमई बिओके हुनेछ भने बैंको चुक्तापूँजी ३४ अर्ब ४१ करोड हुने छ । त्यस्तै बैकको स्वाप रेसियो १ः१ हुने छ । मर्जपश्चात पूँजी संरचनामा ग्लोबल आइएमइ बिओके बैंक नेपालकै दास्रो ठूलो बैंक हुने छ ।
यस अघि जनता बैंकलाई १ः०.८५ को स्वाप रेसियोमा आफूमा गाभेर १७ अर्ब ११ करोड चुक्ता पूँजीसहित पूँजी
सम्रचनामा ग्लोबल आईएमइ देशकै ठूलो बैंक भएको थियो । अहिले उक्त बैंको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ ।
३. कुमारी बैंक र एनसीसी बैंक : कुमारी बैंक र एनसीसी बैंकबिच मर्जको गृहकार्य अन्तिम चरणमा पुगेको छ । आइतबार ती दुई बैंकहरुले संयुक्त साधारणसभा सम्पन्न गरिसकेका छन । उनीहरुले आगामी पुषको १७ गतेबाट एकिकृत कारोबार सुरु गर्ने तयारीसमेत गरेका छन् । ती बैंकहरु १ः१ को स्वाप रेसियोमा मर्जरमा जान तयार भएका छन् भने एकिकृत कारोबार सुरुवात भएपश्चात बैंकको नाम कुमारी बैंक हुने तथा बैंकको सिईओ एनसीसी बैंकले पाउने भएको छ । मर्जपछि बैंकको चुक्ता पूँजी २५ अर्ब ८५ करोडसहित देशको तेस्रो ठूलो बैंक हुनेछ ।
४. नबिल बैंक र नेपाल बंगलादेश बैंक : नविल बैंक र नेपाल बंगलादेश बैंक बिच एकापसमा गाभ्ने र गाभिने प्रकृया पुरा गरि गत वर्षको असार २७ गतेबाट नै एकिकृत करोबार गरिरहेको छ । नबिलले बंगलादेश बैंकलाई १ः०.४३ को स्वाप रेसियो दिएर आफूमा गोभेको थियो । मर्जरपश्चात उसको चुक्ता पूँजी २२ अर्ब ८३ करोड पुगेको छ । मर्जर पश्चात नबिल बैंक पूँजी संरचनामा हालसम्मको नेपालको दोस्रो ठूलो बैंक भएको थियो भने आगामी पुसपश्चात देशको चौथो ठूलो बैंक हुने छ ।
५. प्रभु बैंक र सेन्चुरी कमर्शियल बैंक : प्रभु बैंक र सेन्चुरी कमर्शियल बैंकले पनि एकापसमा गाभिने तयारी अन्तिम चरणमा पुर्याएका छन् । प्रभु बैंक स्रोतका अनुसार अब केही दिनमा नै संयुक्त साधारण सभा बसेर पुस मसान्तसम्ममा एकिकृत कारोबार सुरु गर्ने तयारी भैरहेको छ । प्रभु बैंकले १ः१ रेसियोमा सेन्चुरी बैंकलाई प्राप्ति गर्ने छ भने मर्जरपश्चात प्रभु बैंकको चुक्ता पूँजी २२ अर्ब २२ करोडसहित देशको पाँचौं ठूलो बैंक हुने छ । बैंकको नाम भने प्रभु बैंक नै हुनेछ ।
६. हिमालयन बैंक र सिभिल बैंक : नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रकृया भाँडिएपछि हिमालयन बैंक सिभिल बैंकसँग मर्जको लागि अगाडि बढेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई १ः०.८१ को स्वाप रेसियोमा गाभ्ने छ भने मर्जपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब ३२ करोडसहित देशको छैटौं ठूलो बैंकको स्थानमा पुग्ने छ । मर्जपश्चात बैंकको नाम हिमालयन बैंक हुने छ । संसारन्युजबाट
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.