Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

म्याग्दीको टिमुरले फेर्‍यो किसानको भाग्य, विदेशी बजारमा माग बढ्दै

loading views..
Nepal Telcome

म्याग्दी,२५ कार्तिक। रमरम गर्ने स्वाद र आकर्षक सुगन्धले भरिएको टिमुरले पछिल्लो समय म्याग्दीका किसानको जीवनस्तर उकास्न थालेको छ। यहाँ उत्पादित टिमुरले केवल स्वदेशका तारे होटलहरू मात्र नभैइ जापान, बेल्जियम, कोरिया र अमेरिका जस्ता विकसित मुलुकका उपभोक्तालाई समेत लोभ्याएको छ।
बेनी नगरपालिका–९ तोरीपानीका टिमुर व्यवसायी सागर बानियाँका अनुसार, “विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूले जन्मथलोको स्वाद चाख्नका लागि टिमुर मगाउने क्रम बढेको छ। साथै, पछिल्लो समय व्यावसायिक रूपमा पनि विदेशबाट माग आउन थालेको छ।”
गुणस्तर परीक्षण र विदेश निर्यात:
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गुणस्तर परीक्षण गरी प्रमाणित गरिएको टिमुरलाई विदेश निर्यात गरिने गरिएको छ। गत वर्ष घतानमा उत्पादित एक हजार छ सय किलो टिमुर प्रतिकिलो रु तीन हजारका दरले बिक्री भएको थियो, जसमध्ये करिब दुई सय किलो विदेशी बजारमा पुगेको थियो।
किसानको आम्दानीमा वृद्धि:
बेनी–९ ढावाका नरबहादुर राईले २० हजार रूपैयाँको टिमुर बिक्री गरिसकेका छन् भने थप ४० हजार रूपैयाँ बराबरको टिमुर बिक्रीका लागि तयार छ। उनी भन्छन्, “खेतबारीको छेउमा लगाएको टिमुरले राम्रो आम्दानी दिएको छ।”
व्यावसायिक खेतीतर्फ आकर्षण:
बेनी–९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब एक सय ५० परिवारले व्यावसायिक टिमुर खेती गरिरहेका छन्। म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिमुर खेती हुने गरेको डिभिजन वन कार्यालयले जनाएको छ।
सरकारी र निजी क्षेत्रको सहयोग:
डिभिजन वन कार्यालयले गत वर्ष २० हजार टिमुरका बिरुवा निःशुल्क वितरण गरेको थियो। जिल्लास्थित उद्योग वाणिज्य सङ्घले टिमुरलाई जिल्लाको प्रमुख उत्पादनका रूपमा प्रवर्द्धन गर्दै आइएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link