गोरखा, पालुङटार । पालुङटार नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै उद्यमशीलतामा आबद्ध गराउने उद्देश्यले एकदिने उद्यमशीलता तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीबाट आर्जन गरेको सीप, अनुभव, ज्ञान र पूँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै युवालाई स्वरोजगार तथा उद्यम विकासतर्फ प्रेरित गर्ने उद्देश्य राखिएको थियो।
कार्यक्रममा सहभागीलाई वित्तीय अनुशासन, बचत तथा लगानी व्यवस्थापन, बैंकिङ सेवाको प्रभावकारी उपयोग, व्यवसाय योजना निर्माण, उद्यम सञ्चालनका आधारभूत पक्ष तथा सरकारी सहुलियत र उपलब्ध अवसरबारे जानकारी गराइएको थियो।
यस्तै, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, रोजगारी सिर्जना, उत्पादन तथा उत्पादकत्व वृद्धि र स्थानीय आर्थिक विकासमा युवाको सक्रिय भूमिकाबारे समेत छलफल गरिएको थियो। वैदेशिक रोजगारीबाट फर्किएका युवाको अनुभवलाई स्थानीय विकाससँग जोड्दै स्वदेशमै सम्मानजनक रोजगारी र उद्यम स्थापना गर्न प्रेरित गर्ने विषयमा विशेष जोड दिइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार यस्ता कार्यक्रमले युवामा उद्यम सञ्चालनप्रति आत्मविश्वास अभिवृद्धि गर्नुका साथै वित्तीय निर्णय क्षमता, जोखिम व्यवस्थापन, पूँजीको प्रभावकारी परिचालन तथा दीर्घकालीन आर्थिक स्थायित्व कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय तहको आर्थिक तथा सामाजिक विकासमा युवाको सक्रिय सहभागिता बढाउँदै आयआर्जनका अवसर विस्तार गर्न र ‘समृद्ध पालुङटार’ निर्माणको अभियानलाई थप प्रभावकारी बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।




