Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

सुर्खेतमा राउटे समुदायका लागि निःशुल्क स्वास्थ्य परीक्षण

loading views..
Nepal Telcome

सुर्खेत, माघ ३ गते। राउटे समुदायका व्यक्तिहरूलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। नबिल बैंक र स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल)को संयुक्त आयोजनामा जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतको समन्वयमा यो कार्यक्रम सम्पन्न भएको हो।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको यस स्वास्थ्य शिविरमा ४८ राउटे परिवारका १३७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। तीमध्ये ५९ महिला र ७८ पुरुष सहभागी भएका थिए।

शिविरमा कर्णाली प्रदेश अस्पतालका सर्जन डा. सुजन सापकोटाको नेतृत्वमा चार विशेषज्ञ चिकित्सकहरूको टोलीले मौसमी रुघाखोकी, निमोनिया, छाला रोग, ग्यास्ट्रिक समस्या, तथा महिलामा पाठेघर र ढाड दुखाइका समस्या जाँच गरी औषधि वितरण गरेका थिए। साथै, जुका, भिटामिन, र आइरन चक्की जस्ता औषधिहरू पनि उपलब्ध गराइएको थियो।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले राउटे समुदायमा पोषणको कमी, अस्वस्थ जीवनशैली, र सरसफाइको अभावका कारण देखिने स्वास्थ्य समस्यालाई समाधान गर्न शिविरले महत्वपूर्ण भूमिका खेलेको बताए। “राउटे समुदायको सांस्कृतिक मान्यता र जीवनशैलीलाई सम्मान गर्दै, स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले यो कार्यक्रम गरिएको हो,” उनले भने।

शिविरमा राउटे समुदायका मुखिया र स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बराहताल गाउँपालिका अध्यक्ष भिमबहादुर भण्डारीले लोपोन्मुख जातिका लागि स्वास्थ्य शिविर सञ्चालन गर्नु सराहनीय काम भएको बताए।

नबिल बैंकले आगामी दिनमा पनि समाजको समग्र सुधारका लागि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link