Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

उपल्लो मुस्ताङमा फोरजी सेवा

loading views..
Nepal Telcome

काठमाण्डु। मुलुककै अत्यन्त दूर्गम र विकट मानिएको उत्तरी छिमेकी राष्ट्र चीन स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्र कोरला नाका आसपासका वस्तिहरुमा नेपाल टेलिकमले फोरजी सेवा उपलब्ध गराएको छ।

फोरजी सेवाको उपलब्धता सँगै ती हिमाली वस्तिका वासिन्दाले तीव्र गतिको ब्रोडव्याण्ड इन्टरनेट सेवा समेत प्रयोग गर्न पाएका छन्। कम्पनीले मुस्ताङको लोमान्थाङस्थित नाम्डोकमा फोरजी सेवाको शुरुवात गरेपछि यो यस जिल्लाका उत्तरी सिमाक्षेत्रका करिब सबै वस्तिहरुमा फोरजी सेवा उपलब्ध भएको जानकारी दिएको हो।

गत वर्ष मात्र कम्पनीले उपल्लो मुस्ताङको लोमान्थाङ, चराङ र स्याङ्वोचेमा द्रुत गतिको इन्टरनेट सेवा र गुणस्तरीय भ्वाइस सेवा सहितको फोरजी सेवाको शुरुवात गरेको थियो।

यसैगरी कम्पनीले लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा २ को घमीमा पनि फोरजीको उपकरण जडान गरी मोबाइल सेवा उपलब्ध गराएको छ।

यहाँको टावरबाट स्याङवोचेका सेवा पुग्न बाँकी वस्तिहरु, घमी, लोमान्थाङ र नाम्डोकका सबै वस्तिहरुमा तीव्र गतिको इन्टरनेटसहितको मोबाइल
सेवा उपयोग गर्न सकिने भएको छ।

यसका साथै मुस्ताङकै मार्फा र खिङ्गामा पनि नयाँ टावर निर्माण गरी फोरजी सेवा सञ्चालनमा ल्याइएको छ। स्मरण रहोस् नेपाल टेलिकमले गत वर्ष नै मुस्ताङका पाँच स्थानीय तहका पाँच स्थानमा फोरजी सेवा उपलब्ध गराइसकेको छ। यसैगरी बाँकी पाँच स्थानीय तहमा पुरानै संरचनामा फोरजी सेवा प्रवाह गर्न सकिने उपकरण जडान गरी सेवा उपलब्ध गराइएको छ।

कम्पनीले पहिलेदेखि नै मुस्ताङको जोमसोम, लेते, मुक्तिनाथ, लोमान्थाङ र चराङमा द्रुत गतिको इन्टरनेटसहितको फोरजी सेवा सञ्चालनमा ल्याएको थियो। २०७९ सालको शुरुवातसँगै जोमसोम, लेते, मुक्तिनाथ, लोमान्थाङ र चराङका फोरजी सेवाको पहुँचमा पुग्न बाँकी रहेका वस्तिहरुमा पनि फोरजी
सेवा उपलब्ध गराइएको छ।

हालसम्म थ्रीजी सेवा सुचारु रहेका समर, सुर्खाङ र तेताङका वस्तिहरुमा पनि फोरजी सेवा उपलब्ध गराइने कम्पनीको लक्ष्य रहेको छ। भौगोलिक रुपले अत्यन्त विकट र निकै पातलो वस्ति भएको शान्ता गाउँमा पनि मोबाइल सेवा उपलब्ध गराउने कम्पनीको तयारी रहेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link