माओवादी आन्दोलनको वैचारिक विचलन र राजनीतिक विघटन: जनयुद्धदेखि एमसिसी,भिजिट भिषा र निष्कर्षविहीन हडतालसम्म

माओवादी आन्दोलनको वैचारिक विचलन र राजनीतिक विघटन: जनयुद्धदेखि एमसिसी,भिजिट भिषा र निष्कर्षविहीन हडतालसम्म

नवराज सिंखडा ‘जिज्ञासु/’पोखरा। माओवादी आन्दोलन नेपाली राजनीतिक इतिहासको एउटा निर्णायक मोड हो। यो केवल बन्दुकको लडाइँ थिएन, यो सामाजिक अन्याय, शोषण र विभेदविरुद्धको विद्रोह थियो। लाखौं नेपालीले न्याय, समानता र परिवर्तनको सपना देखेर माओवादी आन्दोलनमा भरोसा गरे। तर आज, आन्दोलनको त्यो बिउलाई स्याहार्ने नेतृत्वकै कारण माओवादी विचार, विश्वास र संगठन तीनवटै गहिरो संकटमा परेका छन भन्न कुनै संकोच मान्न पर्दैन।

यो विचलन क्रमश प्रष्ट देखिन थाल्यो। संविधानसभा निर्वाचनपछि सत्तामा पुगेको माओवादीले आफ्ना एजेन्डाहरू कार्यान्वयन गर्नुको सट्टा अवसरको राजनीति गर्न थाल्यो। विचारमा स्पष्टता भन्दा पनि शक्ति सन्तुलन मिलाउने रणनीति प्रमुख बन्दै गयो।सत्ता र भत्ताको स्वादमा रम्न थाल्यो।

२०६७ सालको आम हड्ताल त्यसको एक चित्कारपूर्ण उदाहरण हो। माओवादीले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा माग्दै ६ दिने आम हड्तालको घोषणा गर्‍यो। सिंगो देश ठप्प पारियो। काठमाडौं उपत्यकामा मात्रै लाखौं कार्यकर्ता उतारिए।तिनै मध्यको एक म पनि थिए।टोल-टोलमा स्वघोषित जनअदालत बस्न थाले। प्रतिरोध चुलिँदै गयो, परिस्थिति निर्णायक मोडमा पुगेको थियो। तर सातौं दिन,माओवादी नेतृत्वले आकस्मिक हडताल फिर्ता गर्‍यो। न त प्रधानमन्त्रीले राजीनामा दिए, न त कुनै सहमति भयो। केवल जनताको दबाब देखियो भनेर आन्दोलनलाई बीचमै अन्त्य गरियो।

कार्यकर्ताहरू निराश भए, देशको बिभिन्न भुगोलदेखी आन्दोलन गर्न काठमाडौ पुगेका कार्यकर्तादेखि आम जनतामा गहिरो प्रश्न उठ्यो,अहिलेको यो नेतृत्व अन्तत किन निर्णायक बन्न सकेन? हड्ताल फिर्ता हुनु रणनीतिक परिपक्वता थिएन, यो तत्कालीन नेतृत्वको अनिर्णय, आन्तरिक दबाब र विचारहीन सम्झौताको परिणाम थियो। आन्दोलनको तीव्रताभित्र निर्णयको कमजोरी लुकेको थियो।

त्यही प्रवृत्तिको निरन्तरता एमसिसी प्रकरणमा देखियो। आरम्भमा माओवादीले एमसिसीलाई राष्ट्रघातको संज्ञा दिँदै सडक ततायो। राष्ट्रियताको मुद्दा उठाएर कार्यकर्तालाई उचालियो र राजधानिको विभिन्न ठाउमा एमसिसिबिरुद्ध बन्द हड्ताल र आन्दोलन गर्न लगाईयो। तर जब सत्ता समीकरण अनुकूल बन्यो, त्यही एमसिसी ‘१२ बुदे ब्याख्यात्मक स्पष्टीकरण’को बहानामा संसदबाट पास गरियो। नेतृत्वले विचार बेचे, कार्यकर्तालाई धोका दियो, जनतालाई छल्यो। यसले माओवादीको वैचारिक अखण्डता मात्र होइन, राजनीतिक साखसमेत सखाप बनायो।

भर्खरको भिजिट भिषा प्रकरणमा पनि माओवादीको चरित्र फेरि उजागर भयो। गृहमन्त्री रमेश लेखकमाथि गम्भीर आरोप लागेपछि संसद अवरुद्ध गरियो। राजीनामा र छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षको भूमिका खेलियो। तर १७ दिनको अबरुद्ध संसद अन्तत बिना कुनै उपलब्धि चलाउन दिइयो। न राजीनामा भयो, न छानबिन समिति गठन।न कुनै ठोस निर्णय तेत्तिकै सत्तासङ्ग सौदाबाजी गर्दै आफ्नैनिर्णयबाट् पछि हट्यो।

यी तीनवटा घटनाहरू२०६७ को हड्ताल, एमसिसी सम्झौता र भिजिट भिषा प्रकरण,एकै सूत्रमा गाँसिएका छन्। ती हुन माओवादी नेतृत्वको दोहोरो चरित्र, आन्दोलनलाई सौदाबाजीको अस्त्र बनाउने प्रवृत्ति, र विचारभन्दा सत्तालाई प्राथमिकता दिने विचलन।

एमसिसी सम्झौताले पुर्‍याएको क्षति मात्र तत्कालीन भएन, त्यो गहिरो दीर्घकालीन प्रभाव बोकेको छ। यसले पार्टीभित्र नैतिक संकट उत्पन्न गर्‍यो, कार्यकर्तामा निराशा फैलायो, र पार्टी जनस्तरमा उपहासको पात्र बन्न पुग्यो। जनताले माओवादीलाई अब आदर्शको होइन, अवसरको प्रतिनिधि मान्न थाले। विचारको पार्टी भन्नुभन्दा पनि ‘सरकारसँग मिल्ने सानो साझेदार’को छवि बन्यो।

भविष्य अझै खतरायुक्त छ। यदि यही शैलीले निरन्तरता पायो भने माओवादी क्रान्तिको नाममा स्थापित वाम आन्दोलन अन्तत विसर्जनतर्फ जान सक्छ। जनतामा वैकल्पिक नेतृत्वको खोजी तीव्र हुन्छ, माओवादी जनआस्था गुमाएर केवल ऐतिहासिक दस्तावेजको विषय बन्यो भने त्यसमा आश्चर्य हुने छैन।राजनीति आदर्शविहीन हुँदा केवल शक्ति स्वार्थको खेलमात्र बाँकी रहन्छ। माओवादीले इतिहासमा दिएको बलिदान, सहिदको सपना र जनताको भरोसा,यी सब अबका दिनहरूमा सम्झनाका विषय मात्र नबनुन, त्यसका लागि आवश्यक छ,पुनरावलोकन, आत्मालोचना र वैचारिक शुद्धिकरण। तर अहिलेसम्मको प्रवृत्तिले यस्तो सम्भावना अत्यन्तै क्षीण देखिन्छ।

माओवादीको विगत गौरवशाली थियो, वर्तमान अप्ठ्यारो छ, र यदि यही प्रवृत्तिले निरन्तरता पायो भने भविष्य केवल क्षतविक्षत हुनेछ,भिरमा जाने गाईलाई राम राम त भन्न सकिएला काध नै थाप्न जाने हिम्मत गर्ने सायदै कोहि नहोलान।

नवराज सिंखडा ‘जिज्ञासु’
भिमसेनथापा–३, गोरखा

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.