विश्वमा कहिलेकाहीँ यस्ता नेता जन्मन्छन्, जसले केवल आफ्नो देशको मात्र होइन, सम्पूर्ण विश्वकै ध्यान तान्छन्। बुर्किना फासोका राष्ट्रपति इब्राहीम ट्राओरे त्यही श्रेणीका अद्भुत पात्र हुन्। ३४ वर्षको उमेरमा सैनिक अधिकृतबाट राष्ट्राध्यक्ष बनेका ट्राओरे आज समग्र अफ्रिका महादेशका युवाहरूका लागि प्रेरणाका पात्र बनेका छन्।
संकटमा जन्मिएको नेतृत्व
बुर्किना फासो लामो समयदेखि गृहयुद्ध, हिंसा र अस्थिरताले थिलथिलो थियो। निरन्तर विदेशी हस्तक्षेप, साम्राज्यवादी शक्ति र देशको प्राकृतिक सम्पदामाथि बाह्य कब्जाले देश कङ्गाल बनिरहेको बेला ट्राओरेले नेतृत्व सम्हाले। मेजर पदमा रहँदै उनले सैनिक शासन स्थापना गरे। सेनाले उनलाई परमाधिपति मान्न तयार भयो।
साहसिक निर्णय र राष्ट्रप्रेम
सत्तामा पुग्नासाथ उनले विदेशी शक्तिहरूको प्रभुत्व अन्त्य गर्न सुरुवात गरे। देशका सुन र हिरा खानी कब्जा गरेर बसेका फ्रान्सेली सेना र पश्चिमा कम्पनीहरूलाई हटाए। बहुराष्ट्रिय कम्पनी र विदेशी ऋणदाताको गुलामी स्वीकार गर्नुभन्दा आफ्नै जनशक्ति र स्रोत साधन प्रयोग गरेर देशको विकास सम्भव छ भन्ने सन्देश दिए।
एलन मस्क जस्ता धनी लगानीकर्ताहरूले सुन खानीमा लगानी गर्न प्रस्ताव गर्दा उनले स्पष्ट अस्वीकार गरे। IMF को ऋण आवश्यक छैन भनी आत्मनिर्भरताको बाटो समाते। साउदी अरबले २०० मस्जिद बनाइदिने प्रस्ताव गरे पनि उनले स्कूल र अस्पतालको प्राथमिकता राख्दै देशको आवश्यकता बुझाए।
ईमानदारी र जनसमर्पण
ट्राओरेको ईमानदारी केवल भाषणमा सीमित छैन। उनी अझै पनि मेजरकै तलबमा काम गर्छन्, अन्तर्राष्ट्रिय भ्रमण र सम्मेलनमा समेत सैनिक पोशाकमै देखिन्छन्। भ्रष्टाचारमा संलग्न ठूला अधिकारीहरूलाई उनले वर्खास्त मात्र गरेनन्, कडा कानुनी कारवाही पनि थाले।
जनताको अपार समर्थन
आज बुर्किना फासोका जनता उनलाई भगवानसरह मान्छन्। राजधानीको राष्ट्रपति भवन अगाडि सर्वसाधारण स्वयं आएर रातभर जाग्राम बसेर उनलाई सुरक्षा दिन्छन्। किनभने उनीहरूले विगतमा २० भन्दा बढी राष्ट्रप्रमुखहरूको हत्या देखिसकेका छन्।
विश्वभरबाट सम्मान
ट्राओरेको इमान्दार नेतृत्वले उनलाई विश्वभर चर्चित बनाइदिएको छ। रुसी राष्ट्रपति पुटिनदेखि लिएर चिनियाँ राष्ट्रपति सी जिनपिङ, उत्तर कोरियाली नेता किम जोङ उनजस्ता नेताहरूले समेत उनको नेतृत्वको खुलेर प्रशंसा गरेका छन्।
नेपालका लागि पाठ
बुर्किना फासोको उदाहरण केवल अफ्रिकाका लागि होइन, हाम्रा लागि पनि गहिरो शिक्षा हो। जब इमान्दार, शिक्षित, राष्ट्रवादी र जोश–जाँगरले भरिएका युवाहरू सत्तामा पुग्छन् भने देश कसरी फस्टाउँछ भन्ने स्पष्ट देखिन्छ। नेपालमा पनि यस्ता युवा नेतृत्वको आवश्यकतालाई हामीले महसुस गरिरहेका छौँ। बालेन शाह, हर्क साम्पाङ, जस्ता युवाहरूले सम्भावनाका झिल्का देखाइरहेका छन्। देश अझै परिवर्तनको प्रतीक्षामा छ।
अन्त्यमा
इब्राहीम ट्राओरे जस्ता नेताले हामीलाई देखाइरहेका छन् : ईमान्दार मन, स्पष्ट दृष्टि र राष्ट्रप्रेमको बलमा एउटा देशलाई पुनर्जीवित बनाउन सकिन्छ। नेपालमा पनि यस्तै इमान्दार नेतृत्व आउँछ भन्ने आशा हामीले कहिल्यै मर्न दिनु हुँदैन।